महिलाको समस्या समाधान गर्दै दोलखा अस्पताल

दीक्षण समाचार ÷चरीकोट– दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखा अस्पतालमा स्त्री रोग पहिचान तथा निशुल्क शल्यक्रिया शिविर जारी छ । आङ खस्ने र पिसाब चुहिने समस्या भएर पनि कमजोर आर्थिक स्थितिका कारण उपचार गर्न नसकेका महिलाहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको डाक्टर राजकुमार दङ्गालले बताउनुभयो । उहाँका अनुसार फागुन २० गते सम्म चल्ने उक्त शिविर ८ गतेदेखि सुरु भएको हो । शिविरमा आएका महिलाहरुको धुलिखेल अस्पतालका विषेशज्ञद्धारा आङ खस्ने र पिसाब चुहिने समस्याको निशुल्क परीक्षण तथा पहिचान भइरहेको छ । परीक्षण पहिचान निशुल्क भएपनि किन्नुपर्ने औषधि तथा उपकरणहरु भने बिरामी स्वयंले किन्नुपर्ने डाक्टर दङ्गालले बताउनुभयो । समस्या भएर पनि लाजका कारण उपचारमा नगई रोग पालेर बस्ने महिला ग्रामीण क्षेत्रमा धेरै रहेका छन् । उनीहरुलाई समेत उपचारको दायरामा ल्याउन शिविर महत्वपूर्ण छ । विषेश गरी आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका महिलाहरुको लागि यो शिविर आयोजना गरिएको हो । परीक्षण पश्चात शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई आगामी २१ गते निशुल्क शल्यक्रियाको व्यवस्था समेत रहेको डाक्टर दङ्गालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो’ मंहगो खर्च तिरेर शल्यक्रिया गरिन्छ । तर शिविरमा निशुल्क गर्ने व्यवस्था मिलाइएको छ । अहिले समस्याको पहिचान गर्ने कार्य भईरहेकोले समयमैँ आएर आफ्नो समस्या पहिचान गर्न हाम्रो अनुरोध छ ।‘ धुलिखेल अस्पतालद्धारा सञ्चालित दोलखा अस्पतालले विभिन्न समयमा विषेश कार्यक्रम तथा शिविरको आयोजना गरी निशुल्क उपचार तथा परामर्श सेवा उपलब्ध गराइरहेको छ । आर्थिक रुपमा विपन्न नागरिकलाई लक्षित गरी दायित्वबोधका साथ अस्पतालले विभिन्न स्थानमा पुगेर शिविर तथा कार्यक्रमहरु गरिरहेको छ भने अस्पतालमा गर्नुपर्ने भए अस्पतालमै शिविर आयोजना गर्ने गरेको छ । त्यस्ता कार्यक्रमबाट धेरै स्वास्थ्य समस्या भएका बिरामीहरु लाभान्वित भएका उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "महिलाको समस्या समाधान गर्दै दोलखा अस्पताल"

Leave a comment

Your email address will not be published.


*