जानुका न्यैपाने
मन परेको काम गर्न नपाएपछि
मेरो कामले
केके केके भोगिरहेछ !!
समयले अलि
काम बृद्धिको माग राखेको छ
कामले
अलि माया गर्न थालेको छ
उमेरलाई
अब नढाँट भनिरहेको छ
जाडोले
तँ बृद भएको हो र ?
भन्न थालेको छ !!
गर्मिले छाला पातले भएको हो र भनेको छ ।
ऐनामा हेर्दै
सेल्फी हानिरहेको म
कति खुशी छु यद्यपि
कति अबिचलित !!
हुन त मसित
वेदनाका छालहरू छन्
दुःखका अनगिन्ती पहाडहरू छन्
पीडाका अरब सागर छन्
लिंगीय प्रतिबन्ध छ –युगीन
सांस्कृतिक थिचोमिचो छ – यथावत
अवसरबाट वञ्चित र अमानवीयता छ– चुलिँदै
विभेदको सगरमाथा छ – अग्लिँदै
परतन्त्रको समुद्र बोकेर
समानता र सम्वृद्धि बगीरहेको छ
कति गन्थन गर्नु – अधिकारको !?
कति बन्दी बन्नु – नियन्त्रणको !?
यो अनुशासनको घेराभित्र रहेर
म पीडा पकाउँदै छु
यो अभावमा
दुःख पगाल्दै छु
पीडाको सागरमा पौडिँदै
एक असभ्यतासँग
एक्लै युद्ध लडिरहेछु ।
सबै जस्तै सबै सँगै
५१ प्रतिशतभित्र म पनि छु चुपचाप
अभाव, दुःख, पीडाको चिसोमा
परम्परागत व्यवहारले ढलाएको भग्नाबषेशमा
अथाह अन्यायको रोटी बेल्दै
यो चिसो अनि अँध्यारो परिदृष्यमा
न समानताको नाना, न स्नेहको छाना
न्यानो समयको विश्वास
ताप्दै रित्तो चूल्हो
सहाँल्दै अनमोल विभेद, अन्याय र पीडाहरू !!!
यतिखेर म
नयाँ भनिएको सभ्यतामा भएको बिभेद नचाहेर
कामना गरिरहेछ
निश्पक्षताले दियो जलाओस्
नीति, नियम र संविधानले
कामना गरिरहेछ
समानता, सम्वृद्धि,
व्यहारमा सकारात्मकता अनि समानता ।
Be the first to comment on "मन परेको काम गर्न नपाएपछि"