इश्वर बिश्वकर्मा
चरिकोट, असार ५
बागमती प्रदेशकाे सामाजिक विकास मन्त्री सरस्वती बस्नेत गृह जिल्ला दोलखा आएकी छन् । मन्त्रालयको जिम्मेवारी पाएको झन्डै २ महिनापछि पहिलो पटक मन्त्री बस्नेत गृह जिल्ला आएकी हुन् । गृह जिल्ला आएलगतै उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गरिरहेका सेवाहरुको जानकारी लिएकी छन् । शनिबार बिहानै केन्द्रमा गएकी मन्त्री बस्नेतलाई आयुर्वेद केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जानुका न्यौपानेको समुहले खादा सहित फुलमाला लगाएर स्वागत गरेका थिए । कर्मचारी तथा चिकित्सकले केन्द्रले दिईरहेको सेवा, यहाँको चुनौती र समस्याका बारेमा मन्त्री समक्ष जानकारी गराएका थिए । कोरोना महामारीमा आयुर्वेदिक औषधि तथा उपचार पद्धतिको महत्व बढेको बताउँदैँ मन्त्री बस्नेतले आयुर्वेदिक पद्धतिको सम्पूर्ण उपचार सेवा दिने गरी आवश्यक पूर्वाधार र उकरण जडानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । हाल केन्द्रले दिईरहेको सेवाप्रति मन्त्री बस्नेतले प्रशंसा व्यक्त गर्दै यो महामारीमा थप सक्रिय हुन समेत अनुरोध गरिन् । आजै दिउँसो मन्त्री बस्नेत स्वास्थ्य कार्यालयको काम कारबाहीको अवस्था बुझ्न जाने बताइएको छ ।
Be the first to comment on "मन्त्री बस्नेत आयुर्वेद स्वास्थ्य केन्द्रमा"