मकैको खोयाबाट च्याउ उत्पादन

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ३ का च्याउ उत्पादक किसान श्रीराम श्रेष्ठले मकैको खोयाबाट च्याउ उत्पादन गर्न सफल हुनु भएको छ । सामान्यतया परालमा गरिने च्याउ खेती परीक्षणका लागि मकैको खोयामा गर्दा उहाँले अझै स्वादिष्ट च्याउ उत्पादन गर्न सफल हुनु भएको हो ।
श्रेष्ठले परालमा च्याउ खेती गर्दै आएको अनुभवका आधारमा एक दिन युट्युबमा मकैको खोयामा पनि च्याउ फलाउन सकिने जानकारी पाउनु भयो । त्यसपछि उहाँले परीक्षणका रूपमा मकैको खोयामा च्याउ खेती सुरु गर्नु भएको थियो । करीब तीन बोरा मकैको खोया संकलन गरेर खेती गर्दा राम्रो नतिजा प्राप्त भएको श्रेष्ठले बताउनु भयो । परालमा गरिने च्याउको तुलनामा खोयामा फलाइएको च्याउ स्वादिलो हुने उहाँको अनुभव छ । उहाँले उक्त मकैको खोयाबाट झन्डै एक वर्षसम्म च्याउ उत्पादन गर्न सकिने जानकारी दिनु भयो । श्रेष्ठका अनुसार, गत कार्तिकमा करीब ४० केजी मकैको खोयाबाट परीक्षण सुरु गरिएको खेतीले छोटो समयमा ४० केजीभन्दा बढी च्याउ उत्पादन गर्यो। दाउराका रूपमा खेर जाने मकैको खोया सदुपयोग गरी च्याउ उत्पादन गर्न सकिने भएपछि यसले आर्थिक रूपमा थप लाभ दिने विश्वास श्रेष्ठले व्यक्त गर्नु भयो ।
मकैको खोयामा च्याउ खेती गर्न परालमा प्रयोग गरिने विधि नै अपनाउन सकिन्छ । खोयालाई पानीमा राम्ररी उसिनेर प्रकाश नछिर्ने कोठामा राख्नुपर्छ । त्यसपछि त्यसमा च्याउको बीउ छरेर प्लास्टिकले छोपेर खेती गर्न सकिन्छ । श्रेष्ठले मकैको खोयामा च्याउ उत्पादन गरी बिक्री वितरण गर्न थालेपछि धेरै मानिसहरूले उहाँसँग यस विधिबाट खेती गर्न लागि परामर्श लिन आउने गरेका छन् ।

Shares

Be the first to comment on "मकैको खोयाबाट च्याउ उत्पादन"

Leave a comment

Your email address will not be published.


*