भेडा पालन प्रबर्द्धन कार्यक्रम गर्दै तामाकोसी गाउँपालिका

इश्वर विश्वकर्मा
चरीकोट, फागुन २४
कुनै समय ग्रामीण क्षेत्रमा ऊन र मासुका लागि फस्टाएको भेडा पालन व्यवसाय अहिले चरनको अभाव, रोगको प्रकोप, बजार अभावका कारण सङ्कटमा पर्न लागेको छ । संकटमा पर्न लागेको यो व्यवसायको पुनरुत्थान र संरक्षणमा नयाँ पुस्ताको चासो नदेखिएको बेला दोलखाको तामाकोसी गाउँपालिकाले किसानसँग लागत साझेदारीमा भेडा पालन भेडा प्रबर्द्धन कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार भेडा प्रबद्र्धन कार्यक्रम गर्न लागिएको गाउँपालिकाका पशु चिकित्सक कुशबहादुर जिरेलले बताउनुभयो । कार्यक्रम अन्तर्गत युवा पुस्ताको आकर्षणका लागि थुमा, विभिन्न सामाग्री, औषधोपचारमा अनुदान दिइने उहाँले बताउनुभयो । भेडा पालन व्यवसायलाई उकास्न कार्यक्रम महत्वपूर्ण रहने उहाँको दाबी छ । जिल्लाका उपयुक्त मानिएका विभिन्न स्थानमा केही दशक अघि सम्म प्राचीन पेशाको रुपमा व्यवसायिक रुपमैँ भेडा पालन हुने गरेको थियो । ती क्षेत्रबाट भेडा, मासु र ऊनको बिक्री हुँदा आम्दानी पनि लोभलाग्दो हुन्थ्यो। तर अहिले अवस्था त्यस्तो छैन । चरनको अभाव र रोगका कारण भेडा पालिन छाडिएको छ । यसमा कसैको ध्यान जान सकेको छैन । तर तामाकोसी गाउँपालिकाले भने यसको पुनरुत्थान र युवा पुस्तालाई प्रोत्साहनको लागि बजेट विनियोजन गरी कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । पालिकाको झुले र च्यामा लगायतका क्षेत्रमा भेडा पालिने गरिएको छ । राम्रो सम्भावना बोकेको भएपनि यहाँ व्यावासिक रुपमा ठूलो मात्रामा भेडा पालन हुन सकेको छैन । नयाँ पुस्तामा समेत आकर्षण देखिएको छैन । यसले भेडा पालन लोप हुन लागेको प्रमाणित हुन्छ । तर अब कार्यक्रम प्रभावकारिताले परिणाम पनि अपेक्षाकृत देखिने पशु चिकित्सक जिरेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, सहकारी संस्था, कृषक समूह समिति निजी संस्थाहरूले फागुन ३० गते सम्म कार्यालय समयभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न उहाँले अनुरोध गर्नुभयो । पालिकामा भेडा पालन फस्टाएमा बजार प्रवर्द्धनको लागि पनि पालिकाको तर्फबाट विषेश कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 

 

Shares

Be the first to comment on "भेडा पालन प्रबर्द्धन कार्यक्रम गर्दै तामाकोसी गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*