भूकम्पपछि घर लिपपोत गर्ने बाध्यता हट्यो

ईश्वर विश्वकर्मा÷ चरिकोट ः भूकम्पपछि पक्की घर निर्माण भएसँगै बिहानै उठेर लितपोत गर्नुपर्ने बाध्यता हटेको छ । ढुँगामाटोको घर हुँदा बिहानैदेखि लितपोतमा व्यस्त रहने महिलाहरु भुकम्पछि सिमेन्टेड घर निर्माण भएसँगै घर लिप्नु पर्ने बाध्यताबाट मुक्त भएका हुन् ।
भूकम्प अघि ढुँगामाटोले बनेको कलात्मक र मौलिक घरलाई सुन्दर र सफा राख्न नियमित लितपोत गर्नु पर्ने बाध्यता थियो । तर २०७२ सालको विनाशकारी भूकम्पछि सो बाध्यता हट्नुका साथै श्रम र समयको बचत भएको भीमेश्वर नगरपालिका ४ जिलुका शान्तकुमारी श्रेष्ठले बताउनु भयो । बिहान उठ्ने बित्तिकै घर लिप्ने काममा व्यस्त हुने महिलाहरु आजभोली फुर्सदिला भएको उहाँले बताउनु भयो । भूकम्पपछि दोलखामा मौलिकता झल्कने ढुँगामाटाको घरहरु लोप भएपनि आधुनिक घर निर्माणसँगै महिलाहरुले पनि लितपोतबाट मुक्त भएका हुन् । भूकम्पपछि इँटा, सिमेन्टको प्रयोग गरी घर निर्माण गरिएकोले रातोमाटो, गोबर र कमेरोको प्रयोग हराएको श्रेष्ठले बताउनु भयो ।
घन्टौँ टाढा माटो र कमेरो लिन जाने तथा लितपोतमा व्यस्त हुने महिलाहरु आजभोली गाउँघरमा आयोजना हुने भेला, छलफलमा सहभागी हुन पाएको भीमेश्वर नगरपालिका वडा नं. ५ माटीका लक्ष्मी कार्कीले बताउनु भयो । “टाढटाढाबाट रातो माटो, गोबर र कमेरो बोकेर ल्याई घर लिपेर चिटिक्क बनाउथ्यौँ ।”उहाँले भन्नुभयो “त्यो घर भूकम्पले भत्कायो । अहिले इँटा र सिमेन्टको प्रयोगले पक्की घर बनेको छ । जसले नियमित लितपोत गर्ने प्रचलन हराएको छ ।”
उखुबारीका सीता कुमारी भुजेलले घर पुननिर्माणपछि लितपोत गर्ने झन्झटबाट मुक्त हुन पाउँदा खुशी लागेको बताउनु भयो । “टाढाटाढा माटो र कमेरो खोज्न जाँदा दुर्घटनाको समेत जोखिम हुन्थ्यो । कतिपयले त ज्यानै गुमाउँथे ।”उहाँले भन्नुभयो,“तर अहिले त्यस्तो अवस्था छैन । हामीलाई यस्तो दुःखबाट भूकम्पले मुक्ति दिएको छ ।”
भूकम्पअघि गाउँमा रहेका मौलिक घरहरु आजभोली देख्न मुस्किल पर्छ । मौलिक पहिचान बोकेका ढुंगामाटोका घरहरुप्रति पर्यटकीय आकर्षण पनि थियो । तर मौलिकता समाप्त भएपनि लिपपोतमा नै जीवनको अधिकांस हिस्सा विताउन बाध्य भएका महिलाहरुभने यो झञ्जटबाट मुक्त भएकोमा खुशी रहेको पाईएको छ ।

Shares

Be the first to comment on "भूकम्पपछि घर लिपपोत गर्ने बाध्यता हट्यो"

Leave a comment

Your email address will not be published.


*