भुकम्पमा सुकेको मुहान सिंचाइले फर्कायो

दोलखा, १९ भदौ
२ वर्ष अघिको भूकम्पले सुकेको दोलखाको हालको वैतेश्वर गाउँपालिका–४ स्थितको निर्माणाधीन काब्रे सिँचाइ योजनाकोे मुहानको पानी फर्काउने काम सफल भएकोे छ । सिंचाइ विकास डिभिजन कार्यालय चरिकोटको पहलमा सुकेको मुहान फर्काएर अहिले पुनः सिचाइ र खानेपानीका लागि प्रयोग गरिएको छ ।
डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद रिजालले पहिलो प्रयास नै सफल भएको बताए । “भुकम्पले धेरै पानीका मुहान सुके, सिंचाइ योजना र खानेपानीकै लागि समस्या भयो” उनले भने “मुहान फर्काउनका लागि उपकरण ल्याएर काम गरेको हिउँदमा विगतमा झैं पानी निकाल्न सफल भएका छौं ।”
जल अनुसन्धान तथा विकास केन्द्रको करिब २७ लाख रुपियाँमा रोटरी मेथडको होरिजेन्टल ड्रिलिङ गरी सुकेको पानी फर्काएको हो । जल अनुसन्धान तथा विकास केन्द्रका हाइड्रोलजिस्टको सहयोगमा मुहान फर्काएको हो । एसियन बोरङि एन्ड ट्रेडिङ कम्पनी प्रालि भरतपुरबाट २७ लाख १० हजार ४४६ मा ठेक्कापट्टामार्फत सो काम भएको हो । अब पानीले पुरानै लय लिइसकेको छ । काब्रे सिँचाइका लागि फलदायी सिद्ध भएको छ ।
एक्स्प्लोर जिओफिजिकल कन्सल्टयान्ट प्रालि काठमाडौँले माटो, चट्टान र पानी समेत पत्ता लगाउने जियोफिजिकल सर्वे अन्तरगतको टु डिइआरटीका लागि रेसिस्टिभी मिटर प्रयोग गरी खोज अनुसन्धान गरेपछि सुकेको मुहान फर्काउन सकिने देखाएपछि होरिजेन्टल ड्रिलिङ गरिएको सिँचाइ विकास डिभिजन चरिकोटका प्रमुख कृष्ण प्रसाद रिजालले जानकारी दिए ।
पानी सुकेको क्षेत्रको चारैतिर रड गाडेर यो मिटरबाट विद्युत प्रवाह गरी अनुसन्धान भएको थियो । यसबाट पानी फर्काउन सकिने फोटोसहितको विवरण पाइयो । यो मिटरबाट पहाडी क्षेत्रमा ५०÷६० मिटर तलसम्मको पानीको मात्रा, वहावलगायतका सम्पूर्ण अवस्था थाहा पाउन सकिन्छ । उनले भने “पानी अन्यत्र विस्थापित भएको रहेनछ भन्ने थाहा पाएपछि, छड्के ड्र्रिल गरी पानी फर्काउन सकिएको हो ।”
प्रतिसेकेन्ड १५० लिटर पानी रहेको स्रोतमा ठ्याम्मै पानी थिएन । निर्माण समिति अध्यक्ष ऋषिराज दाहाल स्रोतभरिको पानी फर्किएको देख्दा दङग परे । उनले भने, “विज्ञान प्रविधि त अचम्मको हुँदो रहेछ, हामीले सोचेकै थिएनौँ ।“ पहिले भए पानी सुकेकै हुन्थ्यो । हाम्रो सिँचाइ योजना पनि अलपत्र परेर बस्थ्यो । यस्ता चमत्कार हेर्न त अलि पछि जन्मनु पर्ने थियो जस्तो लागेको छ । यस्तो राम्रो कञ्चन पानी सिंचाइ मात्रै होइन पिउन पनि प्रयोग गर्ने इच्छा छ । अब भने सपना पूरा हुन्छ कि जस्तो लागेको छ ।
डेढ दशकअघि यो मुहानबाट पक्की कुलो बनाएर तीन किलो मिटरसम्म पानी पुगेको थियो । दुई वर्ष जति सञ्चालन भएपछि बीचमा ठूलो पहिरो गई घरसमेतलाई असर परेपछि बन्द हुन पुगेको थियो । भूकम्पले सुकेको मुहान यसरी फर्किएपछि हाम्रा नगदे बाली लगाएर हराभरा बनाउने र हरियोपरियो खाने तथा आयआर्जन गर्ने चाहना तुहिन लाग्यो कि भन्ने चिन्ता हटेको छ । अब भने पुनः आशा पलाएर आएकाले सारै खुसी लागेको छ ।
मझौला सिँचाइ आयोजना कार्यक्रमबाट निर्मामाणधीन यो सिँचाइ आयोजना निर्माणका लागि एक करोड ५९ लाख रुपियाँमा रौताहा÷ओमबुद्ध जेभीले ठेक्का सम्झौता गरी काम हुँदै आएको सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटले जनाएको छ । भुकम्प अघि सिंचाइ योजना सुरु भएको थियो । सिचाइ कार्यालयका सव इन्जिनियर सञ्जिव खड्काले भने भुकम्पपछि मुहानै सुकेर योजना नै असफ हुन्छ कि
डिभिजन प्रमुख रिजालका अनुसार सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटबाट सञ्चालित यो आयोजना निर्माण कार्य सम्पन्न भएपछि यहाँका १५० घर धुरी लाभान्वित हुने छन् । सो सिँचाइको कुलोबाट डेढ सय हेक्टर जमिनमा सिँचाइ हुने छ । आव २०७०÷०७१ वर्षबाटै सुरु भएको आयोजनाको अनुमानित कुल लागत दुई करोड ६७ लाख १५ हजार रुपियाँ रहेको छ । त्यसमध्ये एक करोड ५९ लाख रुपियाँको ठेक्कामार्फत काम हुँदैछ । नौ लाख ५७ लाख रुपयिाँ बराबरको जनसहभागिता र जलउपभोक्ता समितिमार्फत १४ लाख आठ हजार रुपियाँ बराबरको काम भएको छ ।
कुलोको कुल लम्बाइ सात किलो मिटर रहेको छ । पुरै एचडिपी पाइप गाडिन लागिएको छ । अब करिब पाँच प्रतिशत मात्र काम बाँकी रहेको बताइन्छ । सिचाइ विकास डिभिजन कार्यालयले बुधबार गत आर्थिक वर्षको प्रगति विवरणका लागि आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख रिजालले ९७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको बताए । दोलखामा गरेको मुहान फर्काउने पहिलो प्रयास सफल भएकाले अब अरु मुहानमा समेत यस्तो काम गर्न सकिने बताए ।

Shares

Be the first to comment on "भुकम्पमा सुकेको मुहान सिंचाइले फर्कायो"

Leave a comment

Your email address will not be published.


*