ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २६
दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकपूरधाम उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । भीमेश्वर नगरपालिकाको हलमा शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख भरत केसी र जनकपूरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै भगिनी सम्बन्ध कायम भएको हो । साइनो गाएिसँगै दुई पालिकाबीच सामाजिक, सांस्कृतिक, आर्थिक र विकासका अनुभव आदानप्रदान हुनुका साथै ती सबै क्षेत्रको सफलताको लागि एर्काबीच आवश्यक साझेदारी हुने छ । ऐतिहासिक एवं प्रसिद्ध भीमेश्वर मन्दिर रहेको भीमेश्वर नगरपालिका र महर्षि जनकको पूण्यभूमि, जानकीको पवित्र जन्मस्थलको रुपमा परिचित जनकपुरधाम उपमहानगरपालिकाबीच कायम भएको भगिनी सम्बन्धले विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । रामनवमीको अवसरमा सम्बन्ध कायम गरिएको बताउँदै भीमेश्वर नगरपालिका नगरप्रमुख भरत केसीले आपसी सिकाइ र अनुभव आदानप्रदान गर्दै पालिकालाई समृद्ध बनाउन दिगो सम्बन्ध स्थापित भएको सुनाउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताउँदै नगरसँगको पहिलेदेखिको सम्बन्ध थप प्रगाढ भएको र प्रगाढ सम्बन्धबाट दुबैलाई फाइदा हुने सुनाउनुभयो । भीमेश्वर नगरपालिकाको नामकरण भीमेश्वर मन्दिरको नामबाट भएको हो, भने जनकपुरधाम उपमहानगरपालिकाको नामकरण प्राचीन मिथिला क्षेत्रका राजा जनकको नामबाट भएको हो । यसअघि भीमेश्वर नगरपालिकाले ललितपुरको ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो । कानुनले व्यवस्था गरेबमोजिम कायम गरिएको सम्बन्धले पालिकाको हरेक क्षेत्रमा फाइदा पुग्ने विश्वास लिइएको छ ।
Be the first to comment on "भीमेश्वर र जनकपुरधामबीच भगिनी सम्बन्ध"