हरि खत्री
चरिकोट, चैत्र १३
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ९ आहालडाँडा स्थित एक्लेपाखा जंगलको ओडारमा बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको छ । चैत्र ९ गते खरीढुंगा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ओडारमा राखेको अवस्थामा दुई थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । बरामद गरिएको बन्दुकहरु जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँका अनुसार बन्दुक कसले किन राख्यो भन्ने विषयमा पत्ता लागेको छैन । तर त्यस विषयमा अनुसन्धान भईरहेको छ । प्रहरी अन्यत्र कामको लागि गएको बेला ओडारमा बन्दुक फेला पारेपछि बरामद गरेको हो । “प्रहरी टोली गस्तीमा गइरहेको बेला बन्दुक फेला पारेपछि बरामद गरेको हो । उक्त बन्दुकमध्ये एउटा पड्काए पड्किन्छ । अर्काे भने कूनै काम नलाग्ने किसिमको रहेको छ ।” प्रहरी निरीक्षक कोइरालाले भन्नुभयो “बन्दुक कसले किन राखेको भन्ने पत्ता लाउन अनुसन्धान भईरहेको छ । अनुसन्धानको क्रममा बन्दुक राख्ने व्यक्ति पत्ता लागे कानुन बमोजिम कारबाही हुन्छ ।” बन्दुक जँगलमा सिकारीले छाडेर हिँडेको हुन सक्ने अनुमान गरिएको उहाँले सुनाउनुभयो । चुनावको मुखमा बन्दुक फेला परेपछि दोलखा प्रहरीले थप सर्तकता अपाउन थालेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
सवारी साधनले भरियो प्रहरी कार्यालय परिसर
विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालबाट चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको १० सवारी साधनका धनीहरु सम्पर्कमा नआएको सम्मेलनमा बताइएको छ । प्रहरी निरीक्षक कोइरालाले चेकजाँचका क्रममा फेला परी सवारी साधनको कागजात साथमा नभएका एवं वास्तविक सवारी धनी नभएका पाइएपछि सवारी साधन नियन्त्रणमा लिइ कार्यालयमा राखिएकाे बताउनुभयाे । तर सवारी धनि कागजात सहित सम्पर्क गर्न नआएपछि १० वटा सवारी साधन जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । ती सवारी साधनका धनीहरु नआएपछि प्रहरी कार्यालयका आँगन सवारी साधनले भरिएको छ । जसमा एक वटाको नम्बर नखुलेकाे पाइएकाे छ ।
Be the first to comment on "भीमेश्वर नगरपालिका–९ को ओडारमा भरुवा बन्दुक फेला"