दीक्षण समाचार
चरिकोट, असोज ४
दोलखाको भीमेश्वर नगरपालिकामा फोहोर वर्गीकरण हुन थालेको छ । कुहिने र नकुहिने फोहोर नछुट्याए नगरपालिकाले संकलन नै नगर्ने चेतावनी सहितको सूचना जारी गरेपछि नगरवासीले फोहोर वर्गीकरण गर्न थालेका हुन् ।
घर, कार्यालय, विद्यालय, पसल, कलकारखाना लगायतमा उत्पादन हुने फोहोर आइतबारदेखि वर्गीकरण गरिन थालिएको छ । अलगअलग डस्बिनमा वर्गीकरण गरी राखेको फोहोर नगरको गाडीले संकलन गर्ने र डम्पिङ साइटमा पु¥याएर व्यवस्थापन गर्न थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनु भयो । उहाँले अबदेखि वर्गीकरण गरिएको फोहोर मात्र संकलन हुने भएकोले सोही अनुसार गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नु भयो । वर्गीकृत फोहोर संकलन गर्न बार अनुसार टोलटोलमा सफाइ गाडी आउन थालेको छ । नगरले यसअघि नै फोहोर वर्गीकरण गर्न नगरवासीलाई अनुरोध गरेको थियो । तर सफल हुन सकेको थिएन। सूचना र सचेतना प्रवाह लगायतका तयारी पूरा भएपछि वर्गीकरण गर्न थालिएको हो ।
शहरी सौन्दर्यमा असर पुग्ने कार्य रोकिने
नगरपालिकाले शहरी सौन्दर्यमा असर पुग्ने कार्यलाई नियन्त्रण गर्ने भएको छ । सडक तथा सार्वजनिक मापदण्ड निर्धारण ऐन, २०७४, अनुसार नगरपालिकाले शहरी सौन्दर्य प्रतिकुल हुने कार्य रोक्ने जनाएको हो । नगरले सूचना जारी गर्दै ऐनको दफा १३ (१) बमाजिम सडक किनारामा रहेका कवाडी सामाग्री, बेवारिसे गाडीहरु, सडकमा गरिने सवारी साधन मर्मत वर्कसप, फुटपाथ पसल, मापदण्ड विपरीतको होर्डिङबोर्ड हटाउन र पानीलाई व्यवस्थित तवरले पाइपद्धारा निकास दिन अनुरोध गरेको छ । अनुरोधका वेवास्ता गरेको पाइए कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ ।
Be the first to comment on "भीमेश्वर नगरपालिकामा हुन थाल्यो फोहोरको वर्गीकरण"