भीमेश्वर नगरपालिकामा घरको नक्सा पास अनलाइनबाट हुने

दीक्षण समाचार/चरिकोट –दोलखाको भीमेश्वर नगरपालिकाले अनलाइन प्रणालीबाट घरको नक्सा पास गर्ने भएको छ । नक्सा पास प्रक्रिया तथा सुपरीवेक्षण गर्ने कार्यलाई व्यवस्थित, बैज्ञानिक र चुस्त बनाउनको लागि अनलाइन प्रणाली कार्यान्वयन गरिएको हो । यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालको परामर्श सहयोगमा रनक्सा पोर्टल तयार गरी आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । पोर्टलको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख भरत केसीले स्मार्ट सिटी विकास गर्ने अभियान अन्तर्गत नागरिकलाई सहज रुपमा सेवा दिने उद्धेश्यका साथ अनलाइन मार्फत घरनक्सा पास गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो । उहाँले नगरमा इन्टरनेटको सुविधा भरपर्दाे नभएकोले पूरा रुपमा प्रयोग गर्न समस्या हुने बताउनुहुँदै घरको नक्सा पास अनलाइन प्रक्रिया प्रणाली पनि सञ्चालन गर्ने र यसअघिको प्रणालीलाई पनि केही समयको लागि कायम राख्ने सुनाउनुभयो । उहाँले नगरको नक्सा शाखाका कर्मचारी, नक्साको काम गर्ने कन्सल्टीलाई प्रशिक्षण दिनुका साथै नागरिकलाई सञ्चारमाध्यमबाट जानकारी गराएमा मात्रै भवन निर्माण अनुमति कार्यमा नयाँ प्रक्रियाको प्रयोग सफल हुने बताउनुभयो । उहाँले भन्नुभयो “नागरिकले पोर्टलको प्रयोग गर्न नसकेमा पोर्टल निर्माणको कूनै औचित्य हुदैन । त्यसैले सबै नागरिकलाई नयाँ प्रक्रिया र प्रयोगबारे जानकारी दिनु आवश्यक छ ।” उहाँले अहिले यो पक्रिया नयाँ भएकोले यसको चुनौतीलाई व्यवस्थापन गर्न नगरपालिका तयार भएको सुनाउनुभयो ।
सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने, भवन निर्माण अनुमति प्रक्रियाको विद्युतीय अभिलेखिकरण गर्ने, आवश्यकता अनुसार तथ्यांकहरुको विश्लेषण गरी उपयुक्त नीतिहरु तर्जुमा गर्न सहयोग गर्ने, भवन अनुमति प्रक्रियालाई पारदर्शी बनाउने तथा भवन संहिता तथा मापदण्डको पालनामा उल्लेखनीय वृद्धि गर्न घरनक्सा पासको अनलाइन प्रणालीले सघाउ पुग्ने नगरपालिकाका ईन्जिनियर सुरेश राउतले बताउनुभयो । नगरमा यस अघि भवन निर्माण अनुमतिको काममा ढिलासुस्तीका कारण सेवाग्राहीले सास्ती खेप्नुपर्ने बाध्यता थियो । भने भवन अनुमति प्रक्रियाका कागजात आवश्यक परेको बेला प्राप्त गर्न खोजेर बस्नुपर्ने बाध्यता थियो । भण्डारण गरिएका फाराम तथा तथ्याङ्कहरु विभिन्न कारणले गुमाउने सम्भावना हुने हुँदा कर्मचारीको लागि गम्भीर चिन्ताको विषय बनेको थियो । तर अब भवन निर्माण अनुमति प्रक्रियाका लागि अनलाइन प्रणाली लागू हुँदा सेवाग्राहीको बाध्यता र कर्मचारीको चिन्ता दूर हुने भएको छ । पोर्टल सुभारम्भ कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका ईन्जिनियर कपिल भट्टराईले पोर्टल सञ्चालन, उपयोगिता सम्बन्धि प्रयोगात्मक जानकारी दिनुभएको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा घरको नक्सा पास अनलाइनबाट हुने"

Leave a comment

Your email address will not be published.


*