ईश्वर बिश्वकर्मा
चरिकोट, असार १२
दोलखाको भीमेश्वर नगरपालिकाले अन्तरजातिय विवाहलाई प्रोत्साहन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७÷०८८ को लागि नगरपालिकाले गैरदलित र दलितबिचको विवाहलाई प्रोत्साहन गर्ने नीती बनाएको हो ।
नगरपालिकालाई मात्रै नभई सिँगो जिल्लालाई दलित र गैरदलितबिच सम्बन्ध प्रगाढ बनाई छुवाछुत मुक्त समाज निर्माण गर्न नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेको नगरपालिकाले जनाएको छ ।
कुनै जोडीले अन्तरजातिय विवाह गरि आवश्यक प्रमाण नगरपालिकामा पेश गरेमा प्रोत्साहन स्वरुप ५० हजार रुपैँया पुरस्कार प्रदान गरिने नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् ।
अन्तरजातिय विवाहलाई पोत्साहन गर्ने शिर्षकका लागि नगरपालिकाले ३ लाख रुपैँया बजेट विनियोजन गरेको उनले बताइन् ।
जिल्लामा अन्तरजातिय विवाह बढ्दो क्रममा रहेको छ । जसले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको छ । नगरपालिकाले उक्त कुरालाई मध्यनजर गरि अन्तरजातिय विवाहलाई प्रोत्साहन दिइएको उनले बताइन् ।
भीमेश्वर नगरपालिकाका नगर कार्यपालिका सदस्य दिपक धनुकेले दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहित गर्ने नीति निर्माण हुनु समाजमा छुवाछुत उन्मुलन अभियानमा सहयोग पुग्ने कार्य रहेको बताउँछन् । कतिपय स्थानमा जनप्रतिनिधीबाटै अन्तरजातिय विवाह गर्नेलाई बहिष्कार गरिएको बेला नगरपालिकाले भने अन्तरजातिय विवाहलाई प्रोत्साहित गरेकोमा खुसी लागेको समानता समाज नेपाल दोलखाका अध्यक्ष राजेन्द्र नेपालीले बताए ।
दलित अगुवाहरुले दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहनका विवाहित जोडीलाई पुरस्कारका साथै अन्तरजातिय विवाहको बिरुद्धमा लाग्नेलाई कानुनीरुपमा दण्डित गर्नुपर्ने बताएका छन् ।
बिश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका सहसचिव हुन् ।
Be the first to comment on "भीनपाद्वारा अन्तरजातिय विवाहलाई प्रोत्साहन : विवाह गर्ने जोडीलाई ५० हजार पुरस्कार"