भीमेश्वर नगरपालिकाद्धारा दुई करोड बढी राजस्व संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ५
दोलखाको भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्ष दुई करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड ४९ हजार ४ सय ७२ रुपैयाँ राजस्व संकलन गरिएको नगरपालिका राजस्व शाखाका सहायक कम्प्युटर अपरेटर रविना खड्काले बताउनुभयो । उहाँका अनुसार एकीकृत सम्पति कर, घर बहाल कर, व्यावसाय रजिष्ट्रेशन दस्तुर, नाता प्रमाणित दस्तुर, नक्सा पास दस्तुर लगायतको शिर्षकमा राजस्व असुल भएको हो । नगरपालिकाको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा कम संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा दुई करोड १४ लाख ८० हजार ८ सय ५४ रुपैयाँ राजस्व संकलन भएको थियो । नगरपालिकाले गत आवमा दुई करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सहायक कम्प्युटर अपरेटर खड्काले नक्सा पासको क्रम घट्दै गएको, व्यवसाय करमा छुट गरिएको र करदाता करको दायरामा नआउँदा प्रक्षेपण अनुसार राजस्व संकलन नभएको तथा अघिल्लो आर्थिक वर्षको भन्दा कम राजस्व संकलन भएको बताउनुभयो । “सबैभन्दा धेरै राजस्व घरजग्गाको नक्सा पासबाट हुन्थ्यो । तर नक्सा पास घट्दो क्रममा रहेको छ ।” उहाँले भन्नुभयो “नक्सा पाससँगै दोलखा बजारको सपिङ कम्प्लेक्स राम्रोसँग सञ्चालन नहुँदा र नगरका करदाताहरुले कर तिर्न उदासिन हुँदा राजस्व घटेको हो ।”
जिरीको राजस्व बढ्यो
जिरी नगरपालिकाले गत आर्थिक वर्ष ०७८÷०८९ मा ८२ लाख बढी राजस्व संकलन गरेको छ । नगरका आ.ले.प शान्ति बहादुर कार्कीका अनुसार एकीकृत सम्पति कर, मालपोत कर, प्रशासनकीय दण्ड जरिवाना लगायत शिर्षकमा ८२ लाख ५ हजार ४ सय ३४ रुपैयाँ राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष ६७ लाख हाराहारीमा राजस्व संकलन भएको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा दुई करोड बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*