भीमेश्वर नगरपालिकाको उदाहरणिय कार्यः अन्तरजातिय विवाह गरेका नवजोडीलाई नगद ५० हजार सहित सम्मान

इश्वर बिश्वकर्मा
चरिकोट, माघ ११
दोलखाको भीमेश्वर नगरपालिकाले अन्तरजातिय विवाह गरेका १ नवजोडीलाई नगद ५० हजार सहित सम्मान गरेको छ । केही महिनाअघि अन्तरजातिय विवाह गरेका  राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा दाेलखाका सदस्य एवम् रेडियाे शैलुङमा कार्यरत भीमेश्वर नगरपालिका वडा नं. ३ का प्रदिप सेन्चुरी र शैलुङ गाउँपालिका वडा नं. ६ की नेत्रा कुमारी खड्कालाई आइतबार आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा नगरले नगद सहित सम्मान गरेको हो । विवाहीत जोडीलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी र प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले संयुक्त रुपमा दाेसल्ला अाेडाएर नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए । विवाहित जोडीले उमेर पुगेपछि विवाह गरेको आवश्यक प्रमाण र कागजातको आधारमा नगरपालिकामा निवेदन दिएका थिए । उनिहरुले पुरस्कार प्राप्त गर्न योग्य देखिएकोले नगद सहित सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर खड्काले बताए । चालु आवमा नगरले गैरदलित र दलितबिचको विवाहलाई प्रोत्साहन गर्ने योजना बनाएको थियो । सोही योजना बमोजिम अन्तरजातिय विवाह गरेका जोडीलाई पहिलो पटक सम्मान गरिएको उनले बताए । उमेर पुगि कानुनी रुपमा चालु आवमा विवाह गरेका भीमेश्वर नगरपालिकाभित्रका नवजोडीले आवश्यक प्रमाणसहित नगरमा दाबी गरेको खण्डमा प्रोत्साहन स्वरुप नगदसहित पुरस्कृत गरिने उनले बताए । नगरपालिकालाई मात्रै नभई सिँगो जिल्लालाई दलित र गैरदलितबिच सम्बन्ध प्रगाढ बनाई छुवाछुत मुक्त निर्माण गर्न नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेकाे नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अन्तरजातिय विवाहलाई पोत्साहन शिर्षकमा नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको छ ।  जिल्लामा अन्तरजातिय विवाह बढ्दो क्रममा रहेको छ । जसले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको छ । नगरपालिकाले उक्त कुरालाई मध्यनजर गरि अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने निती नै बनाएको हो । नगरले दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहित गर्दा समाजमा छुवाछुत उन्मुलन अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कतिपय स्थानमा गैरदलित समुदाय र जनप्रतिनिधीबाटै अन्तरजातिय विवाह गर्ने जोडीलाई बहिष्कार गरिरहेको बेला भीमेश्वर नगरपालिकाले भने अन्तरजातिय विवाहलाई प्रोत्साहन गरेकोमा खुसी लागेको दलित अधिकारकर्मीहरुले बताएका छन् । दलित अगुवाहरुले उमेर पुगेका दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहनका साथै अन्तरजातिय विवाहको बिरुद्धमा लाग्नेलाई कानुनीरुपमा दण्डित गर्नुपर्ने दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको उदाहरणिय कार्यः अन्तरजातिय विवाह गरेका नवजोडीलाई नगद ५० हजार सहित सम्मान"

Leave a comment

Your email address will not be published.


*