पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ मंसिर १ गतेआज भाइटिका । यो पर्व दाजुभाई दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने पर्व पनि हो । तिज जस्तै । सबै कुरा बुझाइका न हुन । १० वर्ष अगाडि मेरा १ मित्र यो पर्वलाई दाजुभाइ र दिदीवहिनीबीचको व्यापार भन्थे । यसलाई पुष्टि गर्न उनले लामा लामा लेख पनि लेखे । बहस पनि गर्थे । तर्क पनि पत्याउने खाले नै थिए ।. कानुन विषय पढ्दा एकजना शिक्षकले भनेको सम्झिएँ ।। बाँकि सबै तर्क हुन । विहान रिताले फोन गर्दा बहिनी पनि बोलेकी थिइ । बोल्दा बोल्दै उ रोएकी थिइ । मैले उसलाई भनेको थिएँ । मलाई के भा छ र रुनु । मलाई केहि पनि भएको थिएन । कोरोना भएको थियो । जसका कारण विश्वभरमा १२ लाख जति मानिसहरुको मृत्यु भएको थियो । नेपालमा आजमात्रै यो रोगका कारण ९ जनाको मृत्यु भएको भनेर सरकारले जानकारी दिएको थियो । सरकारी तथ्याङ्कका अनुसार आजसम्म नेपालमा यो रोगका कारण २ लाख १० हजार ९ सय ७३ जना संक्रमित भएका छन् । यसमा १ हजार २ सय ३० जनाको मृत्यु भएको छ।रुने कुरा मलाई संसारको सबैभन्दा अप्ठ्यारो कुरा लाग्छ । पर्वहरुमा आफ्नो मान्छे नहुँदा आँशु आउँछ । यसपाल मैले टीका थाप्न हुँदैनथ्यो त्यसै भएर बहिनी रोएकी हो । यसमा के को व्यापार ? यसो लाग्छ । साँच्चै हामीसँग पर्वहरु नहुँदा हुन त हामीले आफ्ना परिवारका बारेमा कुनै दिन सोच्थ्यौं होला ? हामीसँग त्यसरी सोच्नका लागि फूर्सद हुन्थ्यो होला ? दशैं नभएको भए घरका बाआमा भेट्न आउँथ्यौ होला । तिहार नभएको भए दिदीबहिनी दाजुभाई । यस्तै यस्तै । साँच्चै नै संस्कार संस्कृति हाम्रा कति ठूला सम्पत्ति हुन । हामीले यसलाई बढ्तै काउसो पो ठान्यौ कि ! जीवनभर देउता भन्ने केहि हैन भनेर ठूलाठूला ठेली लेखेका, लामा लामा भाषण गरेकाहरु नै आजकाल पिताम्बर ओडेर हिँड्न थालेका छन् । हुन त समयक्रममा मानिसका धारणाहरु फेरिन्छन नै । तिहार व्यापार भन्ने मित्रले केहि अघि मलाई भनेका थिए । अर्जुनजी नेपालमा हुँदा मलाई विद्यार्थी राजनीति आवाश्यक हो भन्ने लाग्थ्यो । यहाँ विदेशमा आएपछि त्यो अनावश्यक रैछ भन्ने लाग्यो । नेपालमा राजतन्त्र हटाएर समृद्धी ल्याउने अभियानमा लागेका मेरा क्रान्तीकारी मित्र अहिले राजतन्त्र भएको समृद्ध मुलुकमा आफ्नो भविष्य खोजिरहेका छन् । विहानै योग गरें । यहाँ रहेको ठूलो पिपलको फेदमुनी योग गर्ने दैनिकि बनेको छ । योग सक्दा घाम झुल्किएको थियो । मैले घामलाई नमस्कार गरें । दिनभर राम्रोसँग घाम लागेन । धाम्मधुम्ममै दिन वित्यो । साथीहरुले भने विहान अर्जुनले घाम ढोगेर आज दिन धाम्मधुम्म भो ।मोबाइलबाट फेसबुक चलाइरहेका साथीहरु धाम्मधुम्मका बारे जानकार थिए । धाम्मधुम्म हुनुमा बंगलादेशतिर चक्रवात भएर हो । नेपालका कुनै कुनै ठाउँमा पानी पनि पर्न सक्छ । उनिहरुले भनेका थिए । अरुतिर के भयो थाहा भएन । हामी भएका ठाउँमा पानी परेन । मलाई यो बेला फोन पनि नउठाएर बस्न मन लागेको थियो । फेसबुक के चलाउनु । हामी बसेको ठाउँको नजिकैबाट दिदीबहिनी र दाजुभाइहरु ओहोरदोहोर गरिरहे । एकजना बुढा मानिस लठ्ठी टेकेर हिँड्दै गर्दा मैले फोटो खिचें । बेलुका हामीले आगो बाल्यौं । मन्दिरमा जोगी भएर बसेका बाजेले माथीबाट हामीलाई मुडा पल्टाइदिए । सुकेको गाँजाको बोट पनि उखेलेर ल्याइदिए । जोगी बा हामीसँगै बसेका एकजना साथीका हजुरबा नाता पर्ने मानिस रहेछन् । ससुरा बाले फोन गरे । सञ्चोविसञ्चो सोध्ने मात्रै काम भो । अरु त गर्न कुरा पनि थिएनन् । बेलुकाको खानामा अर्को एकजनाले भाले मगाए ।क्रमश………..
Be the first to comment on "बोल्दा बोल्दै उ रोएकी थिइ,मलाई यो बेला फोन पनि नउठाएर बस्न मन लागेको थियो"