ईश्वर विश्वकर्मा
चरिकोट, साउन २३
दोलखाको सैलुङ गाउँपालिका वडा नं. ३ स्थित बोल्दाङमा एक घर एक धारा अभियानले छुन सकेको थिएन । टोल भन्दा केही माथिको जंगलमा खुस्माने मुहान भएपनि तल बस्तीमा भने खानेपानीको समस्याले स्थानीय पिरोलिएका थिए । मुहानबाट पानी निरन्तर बगेर खोलामा मिसिन्थो, तर त्यसको उचित व्यवस्थापन र उपयोग हुन सकेको थिएन । एक दुई जनाको घरमा धारा भएपनि सबैको घरमा धारा नहुँदा समस्या थियो । अधिकांशले अन्तबाट पानीको जोहो गर्ने गर्दथे । तर अहिले टोलका सबै जसो घरमा मिटर सहित धारा जडान गरिएको छ । सो धारा खोल्दा खुस्माने मुहानको चिसो, स्वच्छ र सफा पानी झर्छ । मुहान नजिकै भएर पनि हिजो सम्म विविध कारणले उपयोग नगरी अन्यत्र धाइरहेका स्थानीयहरु आज त्यही मुहानको पानीले प्यास मेटाउने भएका छन् । खानेपानीको जोहो गर्न कठिनाइ झेलिरहेका स्थानीयले घरघरमा निर्माण भएको धाराबाट पानी आउन थालेपछि कठिन अवस्थाबाट मुक्ति पाएका छन् । अहिले खुस्माने मुहानलाई व्यवस्थित गरी पाइप लाइन मार्फत घरघरमा खानेपानी आपूर्ति सुरु भएको छ । गाउँमा एक घर एक धारा अभियानले सार्थक रुप पाएको स्थानीयले बताएका छन् । वाटर एड नेपालको साझेदारीमा सामुदायिक विकास मञ्चद्धारा सञ्चालित खानेपानी स्वच्छता तथा वास उत्थानशील परियोजना मार्फत बोल्दाङमा खानेपानीको पहुँच विस्तार गरिएको हो । सो टोलको ३३ वटा घरमा मिटरसहितको धारा जडान गरिएको छ । दुई वटा सामुदायिक धारा निर्माण गरिएको छ । प्यास लागेको बेला पिउन र अन्य काममा प्रयोग गर्न सहज भएको छ । ‘भन्नालाई एक गाग्री पानी । तर त्यही एक गाग्री पानीको जोहो गर्न हिजोसम्म चिन्ता लिनुपर्ने अवस्था थियो ।’ स्थानीय जितबहादुर विश्वकर्माले भन्नुभयो, ‘अहिले त पिउने पानीकै लागि चिन्ता गर्नुपर्दैन । विषेश गरी छोरी बुहारीलाई पानी बोक्नुपर्ने झन्झट हटेको छ । घरमा धारा जडान गरिएको छ । प्यास नमेटिउन्जेल पानी पिइन्छ ।’ परियोजना मार्फत टोलमा खुस्माने देवीस्थान खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत विभिन्न संरचना सहित ३३ वटा व्यक्तिगत धारा र दुई वटा धारा निर्माण गरी खानेपानीको सुविधा पु¥याइएको सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले बताउनुभयो ।
उहाँका अनुसार खानेपानी आयोजनाबाट ७ दलित, १४ जनजाति र १२ अन्य समुदायका घरधुरी लाभान्वित भएका छन् । चार महिनामै सम्पन्न भएको आयोजना अन्तर्गत धारासहित स्प्रीङ इन्टेक एक, इन्ट्रास गेट चार, डिस्ट्रिन्युसन च्याम्बर एक, पानी टङ्की दुई वटा, वायर मेस फेन्सिङ चार र भल्ब च्याम्बर एक वटा निर्माण भएको छ । परियोजनाका कार्यक्रम संयोजक शैलेस श्रेष्ठका अनुसार खानेपानी सुविधा विस्तारका लागि ४५ लाख ११ हजार ८ सय १६ रुपैयाँ खर्च भएको छ । जसमा परियोजनाको ३८ लाख ५७ हजार ९ सय ५६ रुपैयाँ र उपभोक्ताबाट छ लाख ५३ हजार ८ सय ६० रुपैयाँ बराबरको श्रमदान भएको छ । उहाँका अनुसार धारा मर्मत सम्भारका लागि कोष निर्माण गरिएको छ । त्यसैगरी आयोजना निर्माण सम्पन्न भएपछि बचेका एक लाख ८७ लाख ५७ रुपैयाँ बराबरको ६० प्रकारका निर्माण सामाग्री उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । उहाँले दिगो, सुरक्षित र मजबुत खानेपानी ट्याँकी र धारा लगायतका सम्पूर्ण संरचना निर्माण गरी पानी आपूर्ति भएपछि समुदायलाई सोमबार औपचारिक रुपमा आयोजना हस्तान्तरण गरिएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष बमबहादुर तामाङले खानेपानी सुविधा विस्तार भएपछि गाउँमा खुशी छाएको बताउनुभयो । सबै धारामा मिटर जडान गरिएकोले मिटर अनुसार संकिलत महसुल मर्मत सम्भारमा खर्च गरिने उहाँले सुनाउनुभयो ।
Be the first to comment on "बोल्दाङमा खानेपानी सुविधा विस्तार"