ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित विद्युत पहुँच नपुगको बेदिङका बासिन्दाले अन्धकारमा बत्ति बलेको सपना देख्थे । च्छोरोल्पा हिमताल जाने उक्त दुर्गम गाउँमा बत्तिको सपना पूरा हुनेमा उनीहरु आशावादी थिएनन् । तर अब यही बैशाखभित्रै बेदिङमा रहेको घरघरमा उज्यालो छाउने छ । अहिले बेदिङमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका अनुसार तामाकोशी जलविद्युत आयोजनास्थल गोङ्गरबाट २५ किलोमिटर टाढा रहेको हिमआरोहीको गाउँ बेदिङमा तीन करोड खर्चेर राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । लाइन जडान भएपनि केही सुधार गर्नुपर्ने देखिएकोले बत्ति बाल्न ढिलाई भएको छ । सुधारपछि बैशाख महिनाभित्रै बत्ति बाल्न सकिने केन्द्रका प्रमुख मेघनाथ ढकालले बताउनुभयो । उहाँका अनुसार सुधारको काम १५ दिनमा सकिन्छ । त्यसपछि विद्युत सञ्चालन हुने छ । सडक सञ्जालले नछोएको उक्त गाउँमा निकै कठिनपूर्वक लाइन जडानको कार्य सम्पन्न भएको हो । ’यो जिल्लाको लागि मात्र होइन देशकै लागि उदाहरणीय र ठूलो सफलता हो ।” उहाँले भन्नुभयो, “पैदल मार्ग हुदैँ ६ देखि ७ जनाले एउटा पोल पु¥याउन तीनदेखि छ दिनसम्म लागेको थियो । पोलको मूल्यभन्दा ढुवानी खर्च बढी लागेको छ । हेलिकोप्टरमार्फत ट्रान्सर्फमर लगिएको थियो । यसरी कठिनले राष्ट्रिय प्रसारण लाइन जोडिएको गाउँमा अबको केही दिनको प्रतीक्षापछ बत्ति बल्ने भएको छ । यो गाउँलेको लागि खुशीको कुरा हो भने यो देशको लागि सुखद खबर हो ।” ८२ घरधुरी रहेको बेदिङ समुन्द्री सतहबाट ३८ सय मिटर उचाइमा रहेको गाउँ हो । यहाँ घरघरमा हिमाल आरोहण गरेका व्यक्तिहरु रहेका छन् । त्यसैले यो गाउँ हिमआरोहीको नामले प्रसिद्ध छ। राष्ट्रिय प्रसारण लाइनको बत्ति बल्न थालेपछि गाउँलेको ‘बत्ति’ सपना पूरा हुने भएको छ । यसले गाउँमा उज्यालोसँगै खुशी पनि ल्याएको छ । गाउँमा दुई वर्ष अघिबाट राष्ट्रिय प्रसारण लाइन जडानको काम थालिएको थियो । मान्छेले बोकेर लगेको तीन सय ५० वटा पोल गाडिएको छ।
दाउरा किन्नु र ग्यास सिलिन्डरमा ५ हजार खर्च गर्नुपर्दैन
बेदिङमा बत्ति बलेसँगै अन्धकार हट्ने छ र गाउँको सौन्दर्यतामा टेवा पुग्ने छ । शेर्पा समुदायको बसोबास रहेको बेदिङ र ना गाउँमा च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका आउने पर्यटकहरुलाई लक्षित गरी होटलहरु सञ्चालन गरिएको छ । जहाँ पर्यटकहरु बास बस्ने गरेका छन् । तर दाउरा पाउन समेत कठिन हुने भएकोले दाउरा खरीद गरी चुल्हो बाल्नुपर्ने बाध्यता रहेको छ । पैसा हुनेहरुले पाँचदेखि छ हजारसम्म खर्च गरेर ग्यास सिलिन्डर प्रयोग गर्ने गरेका छन् । केन्द्रका प्रमुख ढकालले भन्नुभयो‘ अब गाउँमा बत्ति बलेपछि त्यस्तो बाध्यताको अन्त्य हुने छ ।” भौगोलिक रुपमा दुर्गम रहेको बेदिङ विकासमा निकै पछाडी परेको हो । तर अब विद्युत विस्तार भएपछि विकासको एउटा रुप गाउँलले देख्न पाउने भएका छन् । “दाउरा किनेर बाल्छन् । पाँच हजार खर्चेर सिलिन्डर लैजान्छन् । बत्ति बलेपछि विद्युतीय चुल्हो प्रयोग गर्न सकिन्छ । जसले गर्दा बाध्यताहरु हट्ने छ, भने खर्च पनि जोगिने छ । विद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने छौँ ।” उहाँले भन्नुभयो “बिजुलीको पैसा पनि सस्तो छ । विद्युतको प्रयोग गरी खपत बढाउने उद्धेश्य हाम्रो हो । त्यसैले बेदिङवासीले ढुक्क र खुशी भएर विद्युत सेवा उपभोग गर्न पाउने छन् ।”
टावर नचल्ने पीर हट्छ
केन्द्रका प्रमुख ढकालका अनुसार बेदिङमा सञ्चारका लागि एक वटा मोबाइल टावर खडा छ । विद्युत विस्तार भएसँगै टावर सञ्चालन समेत सहज हुने छ । अहिले सोलारमार्फत त्यसलाई सुचारु राखिन्छ । तर चार्ज नभएको बेला सञ्चार विच्छेद हुन्छ । बत्ति पुगेपछि अब भने सोलारको सट्टा बत्तिमार्फत टावर सञ्चालन हुने छ ।
ना गाउँमा पनि बत्ति बालिने
बेदिङ गाउँबाट करिब ६ किलोमिटर दूरीमा रहेको ना गाउँमा पनि अर्को वर्ष राष्ट्रिय प्रसारण लाइनको बत्ति बालिने भएको छ । ४२ सय मिटरको उचाइमा रहेको ना गाउँमा गर्मी मौसममा बेदिङबासीहरु सरेर जाने गर्दछन् । बत्तिको आवश्यकता ना मा पनि हुने गर्छ । त्यसैले त्यहाँ पनि राष्ट्रिय प्रसारण लाइन जडानको काम सुरु गरिने नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख ढकालले बताउनुभयो । केही दिन अघि दोलखा आउनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ना गाउँमा विद्युत सेवा लैजान निर्देशन दिनुभएको छ । केन्द्रका प्रमुख ढकालले भन्नुभयो ”यो वर्षदेखि ना गाउँमा पनि प्रक्रिया सुरु हुन्छ ।“ सोलारबाट उज्यालो बनाउन प्रयत्न गरिए पनि त्यो प्रयत्न सफल हुन नसकेको गाउँमा नियमित बिजुली बल्ने भएपछि स्थानीयहरु खुशी भएका छन् । देशमा विकासको गति बढिरहँदा भौगोलिक रुपमा कठिन गाउँ बेदिङमा समेत बत्ति बलेको छ । मानिसले चाहेमा दुर्गमा क्षेत्रमा पनि विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ बेदिङ । च्छोरोप्ला हिमतालको फेदमा रहेको यो गाउँ पुग्न पैदल हिड्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा सडक पु¥याउन सके विकास ओसार्न सहज हुने थियो ।
Be the first to comment on "बैशाखभित्रै ‘हिमआरोही’को गाउँमा उज्यालो"