बेदिङमा राष्ट्रिय प्रसारण लाइनको बत्ती बल्यो

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ को दुर्गम गाउँ बेदिङमा ११ केभीको राष्ट्रिय प्रसारण लाइनको बत्ती बलेको छ । समुन्द्री सतहबाट ३८ सय मिटर उचाइमा रहेको बेदिङका ८२ घरदुरीका नागरिक रातको समयमा अन्धकारमा बस्न बाध्य थिए । केहीले सोलारको भरमा बत्ती बालेपनि अधिकांश घरमा त्यसको पहुँच थिएन । वर्षाैँदेखि उज्यालोको प्रतीक्षारत हिमआरोहीको गाउँ बेदिङमा राष्ट्रिय प्रसारण लाइन जडानसँगै विद्युत प्रवाह हुन थालेपछि रातको समयमा पनि उज्यालो हुन थालेको हो ।
च्छोरोल्पा प्रवेशद्धार समेत रहेको बेदिङमा बत्ती बलेसँगै रातको समयमा घरघरमा उज्यालो छाएको र गाउँको सौन्दर्यतामा पनि थपिएको छ । बर्षाैँदेखि विद्युतको पर्खाइमा रहेका यहाँका बासिन्दा विद्युतको पहुँच विस्तार भई गाउँ उज्यालो हुन थालेपछि उत्साहित भएका छन् । विकास ओसार्ने सडकले नछोएको बेदिङमा विद्युतीय सामाग्री बोकेरै विद्युत विस्तार सम्भव भएको छ । गाउँमा बत्ती बलेपछि इच्छाशक्ति हुने हो, जस्तोसुकै दुर्गम गाउँमा पनि विकास सम्भव रहेको एउटा गतिलो उदाहरण प्रस्तुत भएको छ ।


नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रकाअनुसार तामाकोशी जलविद्युत आयोजनास्थल गोङ्गरबाट २५ किलोमिटर टाढा रहेको बेदिङमा तीन करोड खर्चेर राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । बेदिङबासीको माग र आवश्यकताको परिपूर्तिका लागि राष्ट्रिय प्रसारण लाइन जडानको कार्य सम्पन्न भई बत्ती बल्ने सुरु भएको नेपाल प्राधिकरणका प्रमुख मेघनाथ ढकालले बताउनुभयो । ’बेदिङ जस्तो दुर्गम गाउँमा बत्ती बल्नु जिल्लाको लागि मात्र होइन देशकै लागि गौरवपूर्ण उपलब्धि हो ।” उहाँले भन्नुभयो, “पैदल मार्ग हुदैँ ६ देखि ७ जनाले एउटा पोल पु¥याउन तीनदेखि छ दिनसम्म लागेको थियो । पोलको मूल्यभन्दा ढुवानी खर्च बढी लागेको छ । हेलिकोप्टरमार्फत ट्रान्सर्फमर लगिएको थियो । यसरी कठिनले राष्ट्रिय प्रसारण लाइन जोडिएको गाउँमा अबको बत्ती बलेको छ । यो गाउँलेको लागि खुशीको कुरा हो भने यो देशको लागि सुखद खबर हो ।“ बेदिङमा दुई वर्ष अघिबाट राष्ट्रिय प्रसारण लाइन जडानको काम थालिएको थियो । विद्युत विस्तारका लागि तीन सय ५० वटा पोल गाडिएको छ । यहाँ घरघरमा हिमाल आरोहण गरेका व्यक्तिहरु रहेका छन् । त्यसैले यो गाउँ हिमआरोहीको नामले प्रसिद्ध छ।


शेर्पा समुदायको बसोबास रहेको बेदिङ र ना गाउँमा होटलहरु सञ्चालन गरिएको छ । जहाँ च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका आउने पर्यटकहरु बास बस्ने गरेका छन् । तर दाउरा पाउन समेत कठिन हुने भएकोले दाउरा खरीद गरी चुल्हो बाल्नुपर्ने बाध्यता रहेको छ । पैसा हुनेहरुले पाँचदेखि छ हजारसम्म खर्च गरेर ग्यास सिलिन्डर प्रयोग गर्ने गरेका छन् । अब बत्ती बलेपछि विद्युतीय चुल्हो प्रयोग गर्न सकिन्छ । जसले गर्दा बाध्यताहरु हट्ने छ, भने खर्च पनि जोगिने छ । बत्ती बलेपछि उज्यालोसँगै अन्य विद्युतीय सामाग्री प्रयोग गर्न सकिने भएको छ । प्राधिकरणका प्रमुख ढकालले बेदिङमा विद्युतीय चूल्होको प्रोत्साहन गरिने बताउनुभयो ।”यहाँको प्रमुख समस्या खान पकाउन इन्धनको समस्या रहेको थियो । अब विद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने छौँ ।“ उहाँले भन्नुभयो ”बिजुलीको पैसा पनि सस्तो छ । विद्युतको प्रयोग गरी खपत बढाउने उद्धेश्य हाम्रो हो । त्यसैले बेदिङवासीले ढुक्क र खुशी भएर विद्युत सेवा उपभोग गर्न पाउने छन् । केन्द्रका प्रमुख ढकालका अनुसार बेदिङमा सञ्चारका लागि एक वटा मोबाइल टावर रहेको छ। विद्युत विस्तार भएसँगै टावर सञ्चालन समेत सहज हुने भएको छ ।

Shares

Be the first to comment on "बेदिङमा राष्ट्रिय प्रसारण लाइनको बत्ती बल्यो"

Leave a comment

Your email address will not be published.


*