बुलुङ स्वास्थ्य चौकी पोषणमैत्री घोषित

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २९
दोलखाको बिगु गाउँपालिका वडा नं. ३ स्थित बुलुङ स्वास्थ्य चौकीले निर्धारित मापदण्ड तथा सूचकहरू पूरा गरी पोषणमैत्री भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको १७ वटा सूचकहरू पूरा हुनुका साथै सूचकहरुलाई कायम राख्ने आधार र सुनिश्चिततासँगै स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गरिएको हो ।
“मंगलबार स्वच्छ पोषिलो आहार, स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ आयोजित एक समारोह बीच गाउँपालिका उपाध्यक्ष देविका थामीले स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्नुभएको हो । उक्त स्वास्थ्य चौकी जिल्लामै तेस्रो र पालिकामा पहिलो पोषणमैत्री हुन सफल भएको हो । घोषणा कार्यक्रममा उपाध्यक्ष थामीले प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेको स्वास्थ्य चौकीले पोषणमैत्री हुनका लागि गरेको तयारी र कार्यहरूसँग सूचकहरू पूरा भएपछि पोषणमैत्री घोषण गर्न पाउँदा आफूहरू हर्षित भएको बताउनुभयो । घोषणा भएसँगै अब स्वास्थ्य चौकीले सूचकलाई कायम राख्दै दीर्घकालसम्म निरन्तरता दिन आवश्यक रहेको उहाँले सुनाउनुभयो ।


स्वास्थ्य चौकीका प्रमुख सरोज आचार्यले विभिन्न चुनौती र कठिनाइलाई पार गर्दै सूचक पुरा गरी पाषेणमैत्री अभियान सुरु भएको १ वर्षमै पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार २०७८ साउनदेखि पोषणमैत्री अभियान सुरु गरिएको थियो । पोषणमैत्री हुनका लागि तोकिएको सूचक अन्तर्गत पोषण कर्नर स्थापना, पोषण सम्बन्धी सचेतना मूलक सामाग्री र पोस्टरहरू राखिएको, कुपोषित बालबालिका शून्य पारिएको, पोषणका सामाग्रीहरू तयार राखिएको, बडापत्रमा पोषण सूचना उल्लेख गर्नुका साथै पोषण सम्बन्धी सल्लाह र परामर्श लगायतका कार्यहरू गरिएको छ । आत्म सम्मान र गौरवका साथ पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै आगामी दिनमा पोषण सम्बन्धी उल्लेखनीय कार्यमा सहयोगको प्रतिबद्धता समेत घोषणा कार्यक्रममा गरिएको थियो । घोषणा कार्यक्रममा पोषण मैत्री बन्नका लागि अभियानमा सहयोग गर्ने स्वास्थ्य चौकी मातहतका १६ जना महिला स्वास्थ्य स्वंयसेविका सहित विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, स्वास्थ्य शाखा संयोजक ईश्वर खड्का, वडा नं. ३ का वडाध्यक्ष ढाल बहादुर तामाङ लगायत स्वास्थ्य र पोषणका क्षेत्रमा काम गर्ने प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्लाका पोषणमैत्री स्वास्थ्य चौकीमा पहिलोमा दोलखा स्वास्थ्य चौकी र दोस्रोमा मेलुङ स्वास्थ्य चौकी रहेको छ ।

Shares

Be the first to comment on "बुलुङ स्वास्थ्य चौकी पोषणमैत्री घोषित"

Leave a comment

Your email address will not be published.


*