बिहानै ‘मापसे पाइलट’ले विमान उडाउन खोज्दा’

साउन १४, २०७५

काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अनौठो दृश्य देखियो । फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए । पूर्वनिर्धारित तथा नियमित उडान तालिकाअनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट दुबई जाने तयारीमा रहेको ‘एफजेड–७३७’ कल साइनको विमान फ्लाई दुबईका पाइलट हुसेनले नै उडाउन जिद्दी गरे ।

मातेका हुसेनले चालक दलका सदस्यलाई समेत एकोहोरो मुख छाड्दै ककपिटमा कराउन थालेपछि सो विमानका अन्य चालक दलका सदस्यले तत्काल विमानस्थल कार्यालयमा उनको गतिविधिबारे जानकारी गराएका थिए । सोही जानकारीका आधारमा विमानस्थल प्रशासनले उनलाई विमानबाट ओरालेर मदिरा सेवनबारे परीक्षण गराउने बेथलाइजर मेसिन प्रयोग गरेको थियो । बेथलाइजर मेसिन प्रयोग गर्दा उनले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दुबईको सो समयको नियमित उडान रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
आजको राजधानी दैनिक लेख्छ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए ।
मदिराले मातेका पाइलट हुसेनलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएको थियो । विमानस्थल प्रशासनले पाइलटको गतिविधि एकदमै असामान्य पाएपछि आफूहरूले उनलाई नियन्त्रणमा लिएको र फ्लाई दुबईकै अन्य कर्मचारीको जिम्मा लगाएर छाडिएको बताएको छ ।

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको विमान आइतबार साँझ अर्का पाइलट दुबईबाट मगाएर उडाइएको थियो । मापसे गरेका पाइलटको जबर्जस्ती उडान प्रकरणमा देखिएका सम्पूर्ण रिपोर्ट फ्लाई दुबईको केन्द्रीय कार्यालयमा पठाएको क्षत्रीले जानकारी दिए ।
‘मापसे गरी दुई पांग्रे र चारपांग्रे सवारी चलाउने चालकमाथि विगत लामो समयदेखि कडा कारबाही गर्दै आएको यस मुलुकमा टन्न मदिरा पिएर विमान उडाउन खोज्ने पाइलटलाई किन त्यसै छाडिन्थ्यो र ?’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने,
‘विमानका पाइलटलाई पनि मापसे कानुन लाग्नेछ ।’
उनले यस्तोे विमानस्थल प्रशासनले दिएको विवरणकै आधारमा फ्लाई दुबईले पाइलटलाई कानुनी कारबाही गर्ने बताए ।

 

Shares

Be the first to comment on "बिहानै ‘मापसे पाइलट’ले विमान उडाउन खोज्दा’"

Leave a comment

Your email address will not be published.


*