बालबालिकासँग जेष्ठनागरिकः अनुभव सुनाए, अर्ती उपदेश दिए

ईश्वर विश्वकर्मा
चरिकोट, असार २३
ज्येष्ठ नागरिक देविका कार्कीले आफूले रहर भएपनि पढ्न नपाएको कुरा सुनाउँदै भक्कानिनु भयो । वरिपरि बसेर उहाँको कुरा सुनिरहेका बालबालिका पनि भावुक भए । “पढ्ने रहर भएपनि पनि उबेला घरायसी बाध्यता र समस्याले पढ्न पाइएन ।” कार्कीले भन्नुभयो “अहिलेको जस्तो पहिले कहाँ सजिलो थियो र पढ्न ? उ बेला कमै भाग्यमानीले मात्र पढ्न पाउथेँ ।” कार्कीले विद्यालय शिक्षाको महत्व धेरै रहेको सुनाउँदै बालबालिकालाई लगनशील र मेहनती भएर पढ्न आग्रह गर्नुभयो । “यो समयमा पढ्ने सुविधा र वातावरण पर्याप्त छ । त्यसैले अल्छी नमानी पढेर भविष्य बनाउनुहोस् । नत्र पछुताउनुपर्ला नि !” उहाँले आग्रह गर्नुभयो ।  
भीमेश्वर नगरपालिका वडा नं. ५ का बालबालिकालाई अधिकारको उपयोग गर्दै जीवनलाई सुन्दर बनाउन कामना र आर्शिवाद सहित ज्येष्ठ नागरिकहरूले अर्ती उपदेश दिएका छन् । रेडियो शैलुङको सहजिकरणमा भीमेश्वर नगरपालिकाले आयोजना गरेको अर्ती पुर्खाको कार्यक्रममा ज्येष्ठ नागरिकहरूले आफ्ना जीवनका अनुभव सुनाउँदै अर्ती उपदेश दिएका हुन् । कार्यक्रममा केही दुःखका कुरा, केही सङ्घर्षका कथा सहित ज्येष्ठ नागरिकहरूले आफ्ना जीवन भोगाइ बताइरहँदा वरिपरि बसेका बालबालिकाले चाख मानेर सुनेका थिए । बालबालिकालाई ज्येष्ठ नागरिकका यथार्थ कुराहरू कथा जस्तो लागे पनि उपयोगीमूलक र प्रेरणादायी थियो । अहिलेको आधुनिक जीवनशैलीलाई सामान्यीकरण गर्दै सादा जीवन, उच्च विचार भन्ने सोचलाई अवलम्बन गर्न ज्येष्ठ नागरिकहरूको सुझाव थियो । जीवन सुन्दर र सरल बनाउनका लागि दिएका सुझाव र सल्लाहहरुलाई लागू गर्न सकेमा जीवनका कर्महरू फलदायी हुने उनीहरूको जोड  थियो ।
कार्यक्रममा जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष रङ्गध्वज बुढाथोकीले ज्येष्ठ नागरिकहरू शारीरिक रुपमा कमजोर भएपनि अनुभव र ज्ञानका खानी रहको बताउँदै ज्ञानको हस्तान्तरण र ग्रहण हुन आवश्यक रहेको बताउनुभयो । “ज्येष्ठ नागरिकहरूले कुराकानी गर्दा गनगन गरेको भन्छन् । उनीहरूको कुरा सुन्नै चाहदैनन् । त्यसले उनीहरूलाई अपमान र एक्लो महसुस हुन्छ ।” उहाँले भन्नुभयो “त्यसैले ज्येष्ठ नागरिकका कुराहरूलाई सुन्नुपर्छ । उनीहरूलाई सम्मान र माया गर्नुपर्छ ।” भोलिका कर्णधार विद्यार्थी बालबालिकाले अहिले अरुको राम्रो अर्ती उपदेश तथा मार्गनिर्देशको पालना गर्दै अनुशासित र लगनशील हुन आवश्यक रहेको सुनाउनुभयो ।


कार्यक्रममा वडाध्यक्ष बासु श्रेष्ठले बालबालिका र ज्येष्ठ नागरिकहरूमा उमेरले धेरै अन्तर भएपनि व्यवहारमा भने केही समानता हुने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरू कतिपय ठाउँमा अपहेलित भइरहेकोले त्यसलाई रोकी भगवान समानका उनीहरूलाई माया गर्नुपर्ने बताउनुभयो । चुनावको समयमा गरिएको प्रतिबद्धतालाई पूरा गर्ने बताउँदै वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिक, बालबालिका सबैलाई खुशी बनाउन प्रयत्न गर्ने सुनाउनुभयो । कार्यक्रममा गङ्गा बहादुर बुढाथोकी, विष्णु बहादुर नेपाली, हरिमाया कार्की, तिलक बहादुर कार्की, लीलामाया खड्का, मिश्री खड्का, कृष्ण बहादुर खडका, विशम्भर कार्की, मान कुमारी खड्काले बाल्यकालदेखि हालसम्मका अनुभव प्रस्तुत गर्दै अर्तीउपदेशका कुरा सुनाउनुभएको थियो ।  विद्यार्थी किरण बस्नेतले ज्येष्ठ नागरिकहरूको कतिकुरा हाँसउठ्दो, कुनै कुरा दुखदायी र कतिपय प्रेरक किसिमको रहेको बताउँदै जेष्ठनागरिकहरुले भनेझैँ उद्धेश्य प्राप्तिका लागि संघर्ष गर्ने बताउनुभयो । उहाँले पूराना जीवनशैली, संस्कृति, पराम्परा, भेषभुषा, प्रविधि, खेतीपाती लगायतका थुप्रै विषयमा कार्यक्रमबाट जानकारी पाएको सुनाउनुभयो । अहिले मानवीय जीवन आधुनिकता तर्फ उन्मुख भएको बेला बालबालिकालाई ८०–८५ वर्ष अघिका कुराले अचम्मित बनाएपनि त्यो इतिहास र प्रेरणाको स्रोत हुन्छ ।

Shares

Be the first to comment on "बालबालिकासँग जेष्ठनागरिकः अनुभव सुनाए, अर्ती उपदेश दिए"

Leave a comment

Your email address will not be published.


*