ईश्वर विश्वकर्मा चरिकोट,ः सबै अभिभावकको चाहना र कामना हुन्छ, आफ्ना छोराछोरीले पढेर उन्नति गरुन् ! त्यसैले अभिभावकद्वारा आफ्ना छोराछोरीको शिक्षा र सीपमा मद्दत पुगोस्, भन्ने हेतुले दोलखाका सुगमदेखि दुर्गम ठाउँमा इन्टरनेट जडान गर्ने क्रम बढ्दो छ । तर बालबालिकाले इन्टरनेटको सदुपयोग कम दुरुपयोग बढी गर्दा अभिभावकहरू चिन्तित हुने गरेका छन् । त्यही चिन्तामा हुनुहुन्छ, भीमेश्वर नगरपालिका ४ जिलुकी कान्छीमाया विश्वकर्मा । उहाँको घरमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेट जडान गरिएसँगै उहाँको कान्छा छोरा सुन्दर विश्वकर्मालाई अनलाइन गेमको लतले नै छोएको छ । हरसमय गेम खेल्ने तर पढ्न खासै ध्यान नदिने गरेका कारण सुन्दर को पढाइ निकै खस्किएको छ । किताबबाट मात्र नभई इन्टरनेटबाट बढी भन्दा बढी शिक्षा आर्जन हुने छोराको आग्रहमा इन्टरनेट जडान गरेपनि अहिले छोरा इन्टरनेटकै कारण बिग्रिँदै गएपछि कान्छीमाया लाई चिन्ता थपिएको छ । “छोरालाई पढाइमा सजिलो हुन्छ, भनेर उसैको अनुरोधमा घरमा इन्टरनेट जडान गरियो । छोराको पढाइ अरुको भन्दा राम्रो होला भन्ने सोचेका थियौँ । तर त्यसको उल्टो भयो । अहिले १० कक्षा पढ्दै गरेको छोराको पढाइ बिग्रियो । भविष्य नै डामाडोल होला कि भन्ने चिन्ता बढेको छ ।” उहाँले भन्नु भयो, “कहिलेकाँही सधैँको लागि इन्टरनेट बन्द गराइदिऊँ र मोबाइल खोसेर राखौँ जस्तो लाग्छ । अब अन्य विकल्प नै छैन ।” भीमेश्वर नगरपालिका वडा नं. ५ माटीका ज्येष्ठ नागरिक पदम बहादुर कार्कीले आफ्ना नातिनातिना इन्टरनेट र मोबाइलमा व्यस्त हुनाले पढाइमा समेत असर परेको बताउनु भयो ।नातिनातिना जतिखेर पनि मोबाइलमा गेम खेलेर बस्छन्, पढ्न त मनै गर्दैनन् । ” उहाँले भन्नु भयो, “प्रविधिको सही सदुपयोगले जीवन सहज हुन्छ । दुरुपयोगले अस्तव्यस्त र कठिन हुन्छ, यस्तो कुरा उनीहरु बुझ्दैनन् । यो इन्टरनेटको सदुपयोग नहुँदा निम्तिएको समस्या हो । यो समस्या कान्छीमाया र पदमबहादुरको मात्र होइन धेरै अभिभावकको हो । पछिल्लो समय जिल्लाको सुगम मात्र होइन, दुर्गम गाउँमा पनि इन्टरनेटको पहुँच विस्तार भएको छ । तर इन्टरनेटको पहुँचमा जोडिएसँगै यसको सही सदुपयोग भन्दा दुरुपयोग बढ्दै गएको छ । विशेष गरी बालबालिकाद्वारा इन्टरनेटको दुरुपयोगले उनीहरूको मानसिक, शारीरिक र सामाजिक क्षेत्रमा असर परिरहेको मनो विश्लेषकहरुको भनाइ छ । इन्टरनेट, मोबाइलमा फेसबुक टिकटक, अधिक गेम खेल्दा तथा यसको दुरुपयोगले बालबालिकाको व्यवहार र जीवनशैली नै अस्तव्यस्त बन्दै गएको छ । यसैको कारण पढ्ने उमेरका बालबालिकाले आफ्ना गृहकार्य नगर्ने, आफन्तसँग घुलमिल नहुने, जिद्धी गर्ने, रिसाउने, एकोहोरो हुने, खाना नखाने, विद्यालय जान नमान्ने, विद्यालय छाड्ने लगायतका प्रवृत्ति देखाउने गरेको अभिभावकहरू बताउँछन् । कालान्तरमा इन्टरनेटको दुरुपयोगले बालबालिकामा मानसिक तथा स्वास्थ्यमा समेत समस्या आउने, तथा उनीहरु आपराधिक घटनामा समेत संलग्न हुने सम्भावना रहन्छ । अभिभावक रामकृष्ण शिवाकोटीले इन्टरनेट र प्रविधिको दुरुपयोगले बालबालिकाको चौतर्फी विकासमा असर परिरहेको बताउनु भयो । “इन्टरनेट मोबाइल, ल्यापटपको दुरुपयोगले बालबालिकाको वृद्धि र विकासमा असर परिरहेको छ ।” उहाँले भन्नुभयो, “यसलाई बेलैमा रोकथाम गर्न नसकेमा समस्याले विकराल रुप लिन पनि सक्ने देखिन्छ । अभिभावकहरू यसमा सचेत बन्न जरुरी छ ।” शिक्षक गोकुल थामीले इन्टरनेट र मोबाइलको दुरुपयोग र यसको असरबाट बालबालिकाका ग्रसित हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै भन्नु भयो । “बालबालिकाले इन्टरनेटको प्रयोग कसरी गरिरहेको छ, अभिभावकले निगरानी नगर्नु र वेवास्ता गर्दा समस्या भईरहेको छ । बालबालिकाहरु त्यसैको लतमा फसिरहेका छन् ।उनीहरूको जीवन बर्बादीसँगै सामाजिक विचलन समेत उत्पन्न भईरहेको छ ।” इन्टरनेट दुरुपयोग लागू पदार्थ जस्तै घातक हुने र यसबाट मुक्त हुनै गाह्रो पर्ने भएकोले परिवारका सदस्यलाई अभिभावकले र विद्यार्थीलाई विद्यालयमै इन्टरनेटको सही सदुपयोगबारे जानकारी दिन आवश्यक रहेको शिक्षक थामीले बताउनु भयो । इन्टरनेटको सही प्रयोगले धेरै फाइदा लिन सकिन्छ । तर सदुपयोग भन्दा दुरुपयोग हुँदा थुप्रै बेफाइदा हुने गर्छ । दुरुपयोग गर्न र गराउन नहुनेमा सबै सचेत हुन आवश्यक रहेको उहाँले सुनाउनु भयो । उहाँले बालबालिकालाई इन्टरनेट सीमित समयका लागि निगरानीमा चलाउन दिने र अभिभावक पनि इन्टरनेट कम चलाउने गर्न सकेमा इन्टरनेटको दुरुपयोग रोक्न सकिने बताउनु भयो ।
बालबालिकाद्धारा इन्टरनेटको दुरुपयोग बढ्दै
Posted By: दीक्षण दैनिक १६ कार्तिक २०७९, बुधबार १७:३७
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "बालबालिकाद्धारा इन्टरनेटको दुरुपयोग बढ्दै"