बाम गठवन्धन दोलखाकोमहत्वकांक्षि प्रतिबद्धतापत्र, जलविद्युत, पर्यटन, कृषिलाई बिशेष जोड

चरिकोट(दीस)–बाम गठवन्धन दोलखाले आफ्नो संयुक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजना बनाएको छ । प्रतिबद्धतापत्रमा जलविद्युत, पर्यटन, कृषिलाई बिशेष जोड दिइएको छ । एमाले र माओबादी केन्द्र दोलखाले तयार पारेको प्रविबद्धता पत्रमा जिल्लामा निर्माण हुन बाँकी ठुला जलबिद्युत आयोजनाहरु जिल्लाभित्र उत्पादन हुने करिव २ हजार ५ सय मेगावाटका निर्माणको लागि लगानी मैत्री वातावरण श्रृजना गर्ने उल्लेख गरिएको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी जुटाउनुको अतिरिक्त दोलखाली जनताको शेयर लगानीको सुनिश्चितता सहित जिल्लालाई ‘बिद्युत केन्द्र’ को जिल्लाको रुपमा विकसित गर्ने पत्रमा उल्लेख गरिएको छ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालकै छोटो दुरीको उत्तर–दक्षिण लोकमार्गको लामावगर–फलाक सडकलाई निर्माण सम्पन्न गरी लामावगर नाकालाई भारतीय सीमा भिट्टामोडसम्म जोडिने उल्लेख गरिएको छ । लामावगर नाकालाई व्यापारिक नाकाको रुपमा विकास गर्ने महत्वकांक्षी योजना तयार पारिएको छ । हाल बन्द अवस्थामा रहेको ओरियन्ट म्याग्नेसाइट खानी, खरिढुंगाको बृहत सर्वेक्षण र थप अनुसन्धान गरी पुनः संचालनमा ल्याइने उल्लेख छ ।
सरकारले दोलखाको भीमेश्वर नगरपालिका स्थित डाङडुङे डाँडामा निर्माणको औपचारिक निर्णय गरेको ‘फिल्म सिटी’ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी जुटाई निर्माण गरिने पत्रमा उल्लेख गएिको छ । त्यसैगरी “कृषि र पशुपालनमा आधुनिकिकरण, निर्वाहमुखी कृषिलाई व्यवसायीकरण” भन्ने नारा सहित फलफुल, तरकारी, नगदेवाली, वीउ उत्पादनजस्ता कृषिवस्तु र पशुपालनमा कृषकलाई प्रोत्साहन स्वरुप निश्चित अनुदानको व्यवस्था गरी उत्पादकत्व र उत्पादनमा बृद्धि गर्दै सुनिश्चित बजारीकरणको संजाल निर्माण जनाइएको छ । कृषकको लगानी सुरक्षित गर्न कृषिबाली तथा पशुपालन दुवैको बीमा गर्ने अभियानलाई व्यापकता दिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । व्यवसायिक कृषकहरुलाई स्थानीय तहमा भएका वैंक तथा वित्तीय संस्थाहरुबाट परियोजना धितो राखी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने वातावरण श्रृजना गरिने जनाइएको छ । दुध, अण्डा र मासुमा जिल्लालाई आत्मनिर्भर वनाउनुको अतिरिक्त जिल्ला वाहिर निर्यात समेत हुनेगरी कार्यक्रमहरु संचालनमा जोड दिएको छ । बाँझो वा खेर गइरहेको पाखो जग्गामा व्यापक फलफुल खेती विस्तार गर्ने उल्लेख गरिएको छ । सहकारी, निजी तथा स्थानीय तह थ्रि पी) लागत साझेदारी गरी कम्तिमा एक स्थानीय तहमा एक चिस्यान केन्द्र÷प्रशोधन केन्द्र निर्माणमा जोड दिएको छ । जिल्लामा निर्माणाधीन चक्रपथ सडकलाई स्तरोन्नति सहित कालोपत्रेलाई प्राथमिकता आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ ।
जिल्ला सदरमुकाम वा लोकमार्गवाट गाउँपालिका केन्द्रसम्म र गाउँपालिका केन्द्रबाट नयाँ कायम भएका सबै वडा केन्द्रहरुमा बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी सडकको स्तरोन्नति सहित सडक विस्तार गर्ने उल्लेख गरिएको छ । सबै वस्ती तथा टोलहरुलाई सडक सञ्जालले जोड्ने उल्लेख छ । चरिकोट, जिरी, दोलखा, सिँगटी, वाघखोर, मैनापोखरी, किर्ने जस्ता उदयमान शहरी क्षेत्रहरुमा प्रशोधन सहितको ढल व्यवस्थापनमा जोड दिएको छ ।
त्यसैगरी पर्यटनमा दोलखामा रहेका बिभिन्न प्रसिद्ध तीर्थस्थलहरुलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने जनाइएको छ । बन्जीजम्प, प्याराग्लाइडिङ, ¥याफ्टिङ, ट्रेकिङ, रकक्लाइम्बिङ तथा माउन्टेनरिङ जस्ता साहसिक पर्यटनका सम्भावनाहरुको अध्ययन गरी कार्यान्वयनमा जोड दिएको छ । शिक्षामा “गुणस्तरीय शिक्षा–हाम्रो प्रतिवद्धता” मुल ध्येय राखी भौतिक सुविधा सम्पन्न विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । स्वास्थ्यमा प्रत्येक स्थानीय तहमा आवश्यक उपकरण र शल्यक्रिया सुविधा सहितको कम्तीमा १५ बेडको एक अस्पलालको साथै जिल्लास्तरमा शल्यक्रिया सहितको सुविधा सम्पन्न कम्तीमा ५० शैयाको अस्पताल व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । त्यसैगरी एकीकृत बस्ती निर्माणलाई प्रोत्साहन गर्ने, स्थानीय तह अन्तर्गत प्राविधिक तथा भूकम्प भएको क्षतीको पुनर्निर्माणलाई जोड दिएको छ । युवा रोजगारलाई जोड दिएको छ । “बाम सरकारको उपहार, घर–घरमा रोजगार’ भन्ने नारा प्रतिबद्धतापत्रमा उल्लेख छ । त्यसैगरी सूचना र संचार प्रमुख पर्यटकीय स्थलहरु, शैक्षिक अनुष्ठानहरु, स्वास्थ्य संस्थाहरु, अन्य सार्वजनिक सरोकारका महत्वपूर्ण स्थानहरुमा वाइफाइ सुविधा सहित प्रविधिमैत्री सञ्चार सुविधाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

 

Shares

Be the first to comment on "बाम गठवन्धन दोलखाकोमहत्वकांक्षि प्रतिबद्धतापत्र, जलविद्युत, पर्यटन, कृषिलाई बिशेष जोड"

Leave a comment

Your email address will not be published.


*