बहुउद्देश्यीय भवन समयमै भाडामा नलगाउँदा नगरपालिकालाई लाखौं घाटा

नवराज शिवाकोटी ÷चरिकोटः नगरविकास समितिको अनुदान तथा ऋणमा निर्माण गरिएको सातदोवाटोमा नवनिर्मित बहुउद्देश्यीय भवन समयमै नगरपालिकाले भाडामा नलगाउँदा नगरलाई लाखौँं घाटा भइरहेको छ । भवन निर्माण सम्पन्न भइसक्दा पनि ठेक्का प्रकृया अगाडि नबढाएकोले नगरपालिकालाई लाखौं घाटा भएको हो ।
नगरविकास समितिले दिएको अनुदान बाहेक १ करोड २८ लाख २४ हजार रुपैयाँ सो भवनको निर्माणकालागि नगरले साँढे ५ प्रतिशत ब्याजमा ऋण लिएको भीमेश्वर नगरपालिकाको तथ्याङ्क छ । यही पुषमा सो ऋणको ब्याज समेत किस्ता बापत नगरले ६ लाख ७३ हजार पाँच सय उनानसाट्ठी रुपैयाँ बुझाउनु पर्ने हुन्छ । सदरमुकामको मुटुमा रहेको लाखौं आम्दानी दिने भवन भाडामा नलगाई नगरपालिकाको अन्य कोषको रकमबाट किस्ता तिर्ने नगरको काम ठिक नभएको चरिकोटका स्थानीयहरुको भनाई छ । कृषि बजारकालागि बनाइएको एक तले भवन भत्काएर बनाईएको सो बहुउद्देश्यीय भवन संचालनमा नआउँदा अहिले कृषकहरु सातदोवाटोमा सडक ढाकेर शनिवार आफ्नो उत्पादन बेच्न बाध्य भएका छन् । सो भवनका अन्य तला भाडामा लगाई भुइँ तल्ला वास्तविक कृषकलाई उनीहरुले उत्पादन गरेका कृषिजन्य उपजको हाट बजार संचालन गर्न दिनुपर्ने कृषकहरुको माग रहेको छ । भीमेश्वर नगरको गौरवको आयोजनाकै रुपमा अगाडि बढाईएको यो भवन भाडामा दिनकोलागि गत आर्थिक वर्षमा दुई तल्ला थप्नेगरी आशय पत्र मागिएपनि जनप्रतिनिधि परिवर्तन भएपछि यसको मोडालिटी परिवर्तनगरी भाडामा लगाउने भनिएको थियो । तर ,हालसम्म कुन मोडालिटीमा भवन भाडामा दिने भनी कुनै निर्णय भई नसकेको भीमेश्वर नगरपालिकाका एक कर्मचारीको भनाई छ ।
भवन भाडामा लगाउने सम्बन्धमा के भइरहेको छ भनी भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंलाई प्रश्न गर्दा बहुउद्देश्यीय भवन फ्ल्याट सिस्टममा भाडामा लगाउने भनी सामान्य छलफल भएको तर हालसम्म कुनैपनि निर्णय भने भइनसकेको बताउनु भयो । भवनको रंगरोगन तथा सरसफाई गरी अब बस्ने भीमेश्वर नगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट कुन मोडलमा भाडामा दिने भनी निर्णय गरिने बताउनु भयो ।

Shares

Be the first to comment on "बहुउद्देश्यीय भवन समयमै भाडामा नलगाउँदा नगरपालिकालाई लाखौं घाटा"

Leave a comment

Your email address will not be published.


*