इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २७
आलु भण्डारणका लागि मेलुङ गाउँपालिकाको वडा नं. ३ मानेमा ४५ टन क्षमताको रष्टिक स्टोर निर्माण भईरहेको छ । आलुको पकेट क्षेत्र मानिने वडा नं. ३, ४ र ५ को किसानहरुको फाइदाका निम्ति ३ वटा भवनसहितको स्टोर निर्माण भईरहेको पालिकाले जनाएको छ । स्टोर संरचना निर्माणको लागि भीमेश्वर कन्ट्रक्सनले जिम्मा पाएको थियो । गत फागुन १५ गते देखि सुभारम्भ गरिएको स्टार निर्माणको काम यही असारसम्ममा सक्ने लक्ष्य राखिएको छ । यद्यपी कोरोनाका कारण काम प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएपनि सुरक्षा सावधानी अपनाएर काम भईरहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ बगमती प्रदेश सरकारको ५० लाख र पालिकाको ७५ लाख गरी १ करोड २५ लाख रुपैयाँ स्टाेर निर्माणको लागि विनियोजन गरिएको गाँउपालिकाका प्रबक्ता हिरा थोकरले बताए । स्टोर निर्माणपछि ६ देखि ८ महिनासम्म आलु भण्डारण गरी सुरक्षित राख्न सकिने छ । पालिकाको आलु पकेट क्षेत्रमा वर्षेनी प्रशस्त आलु उत्पादन हुन्छ । तर आलुको व्यवस्थित भण्डारणमा समस्या हुने गरेको छ । सिजनमा बिक्री गर्दा आलुको उचित मूल्य पाउन सकिरहेका छैनन् । भने आलु बिक्रीका लागि अत्यन्तै सकस हुने गरेको छ। यसरी वर्षेनी घाटा व्योहोर्नु पर्दा कतिपयले त यसबाट भविष्य नरहेको ठहर गर्दै पलायनको अवस्थामा छन् । तर रष्टिक स्टोर निर्माण भएपछि आलु भण्डारण गरी बेमौसममा वा भाउ बढेको समयमा बिक्री गरी मनग्य आम्दानी हुने भन्दै किसान उत्साहित भएका छन् ।
च्याँमामा बन्यो रष्टिक स्टोर
जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ६ च्याँमाको गुफ्लेमा ८० मुरी क्षमताको आलु रष्टिक स्टोर ्र निर्माण गरिएको छ । किसानले उत्पादन गरेको आलु व्यवस्थित तरिकाले भण्डारणका लागि गाउँपालिकाको १८ लाख रुपैयाँ लागतमा स्टोर निर्माण गरिएको हो । उपभोक्ता समितिमार्फत गत वर्षदेखि भवन निर्माण सुरु भएकोमा यो वर्ष सम्पन्न भएको छ । किसानको फाइदाका लागि स्टोर निर्माण भएपछि उनिहरु उत्साहित भएका वडाध्यक्ष झनक बहादुर खत्रीले बताए । युवाहरुलाई कृषि कर्ममा आकर्षण गर्न र कृषि उत्पादन बृद्धिका लागि आफ्नो तर्फबाट सक्दो काम गरेको उनको भनाइ छ ।
Be the first to comment on "मेलुङ गाउँपालिकामा बन्दैछ ४५ टन क्षमताको रष्टिक स्टोर, उत्साहित छन्, किसान"