दीक्षण समाचार
चरिकोट, माघ २३
असमझदारी, असहमती, अहम्ता बढ्दै जाँदा श्रीमान श्रीमती बीच मनमुटाव र विवाद हुन्छ । जसलाई समयमै साम्य पार्न नसके सम्बन्धमा तिक्तता आई सम्बन्धलाई सदाको लागि तोड्ने अवस्थामा सम्म पुग्छन् । दोलखामा पनि पछिल्ला वर्षहरुमा यी यस्तै कारण देखाउँदै सम्बन्ध विच्छेद गर्न चाहने विवाहित व्यक्तिहरु बढ्न थालेका छन् । सामाजिक परम्परा अनुसार जुनीभर साथ दिने बाचासहित विवाह गर्नेहरु त्यसपछिको परिस्थित प्रतिकुत हुँदा बाचा बन्धन मात्र नभई छोराछोरी समेत त्याग्न पछि पर्दैनन् । जसले गर्दा बालबालिकाहरु बिचल्लीमा पर्ने गरेका छन् । जिल्ला अदालत दोलखाको तथ्याङ्क केलाउने हो, भने अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदको मुद्धा दर्ता हुने गरेको छ । त्यसमा पनि ९० प्रतिशत महिलाहरुले नै सम्बन्ध विच्छेद बिच्छेदको निवेदन दिने गरेका छन् । जिल्ला अदालत दोलखाका श्रेस्तेदार शिवकुमार पोखरेलले पुरुषको स्वभाव चाहना अनुरुपको नभएपछि छुट्निे निधोमा पुगेर महिला नै आएर निवेदन दर्ता गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार अदालतमा अघिल्लो वर्षबाट सरी आएका ५३ र चालु आर्थिक बर्षको साउन देखि हाल सम्म दर्ता भएका १ सय ४ गरि १ सय ५७ वटा सम्बन्ध विच्छेदका मुद्धा छन् । चालु आर्थिक वर्षामा १ सय ५७ वटा सम्बन्ध विच्छेदका मुद्धा मध्ये ८८ जोडीको सम्बन्ध विच्छेद भई सकेको र आर्थिक वर्ष २०७७÷७८ मा अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएका १ सय ७४ वटा जोडी मध्ये १ सय २१ जोडीको सम्बन्ध विच्छेद भएको छ । सानै उमेरमा अभिभावकको करकापमा तथा आफ्नै इच्छामा विवाह गर्ने तर भविष्यमा कुरा नमिल्दा छुट्टिने क्रम बढ्न थालेको श्रेस्तेदार पोखरेलले बताउनुभयो । उहाँले पछिल्लो समयमा विवाहित जोडीहरु आधुनिक प्रकारको देखिएको र विवाह बन्धनलाई ख्यालख्याल ठानेको कारण पनि सम्बन्ध बिच्छेद बढेको सुनाउनुभयो । सम्बन्ध बिच्छेद गर्न कानूनले नै दिएपछि पनि सम्बन्ध विच्छेद गर्नेहरु बृद्धि भएका छन् ।
Be the first to comment on "बढ्दै सम्बन्ध बिच्छेदको मुद्धा"