बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति गर्दैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको आगामी बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति नगर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार दिउँसो विज्ञसहित बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट राष्ट्रहितमा नभएको निष्कर्ष निकालेको हो ।

संसदीय दलका सदस्य र विज्ञहरुको बजेटबारेको धारणापछि संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सदस्यहरुलाई संसदमा सरकारको बजेटका विषयमा विरोध जनाउन रुलिङ गरेका छन् ।

‘‘संसदीय दलका सदस्य र विज्ञहरुको धारणापछि सभापतिज्यूले हामीलाई संसदमा विरोधका लागि विरोध नभएर विश्लेष्णात्मक ढंगले प्रस्तुत हुन रुलिङ गर्नुभएको छ,’’ बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले भने ।

सरकारले आगामी आर्थिक वर्षका लागि संघीयतालाई पाखा लगाएर एकात्मक राज्यसत्ता प्रणालीअनुरुप केन्द्रीकृत ढंगले बजेट ल्याएको कांग्रेसको ठहर छ । बजेटमा उल्लेख गरिएका योजनाहरु पार्टी सदस्यहरुले कार्यान्वयन गर्ने ढंगले प्रस्तुत गरिएकाले बजेटबाट जनता लाभान्वित हुन नसक्ने पनि कांग्रेसले दाबी गरेको छ ।

प्रतिपक्षी कांग्रेसले बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता नदिइएको र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सम्बोधन नगरेको प्रति पनि आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको बैठकमा सहभागी अर्थविज्ञ डा गोविन्द पोखरेलले सरकारले बजेटमार्फत् निजी क्षेत्रलाई उत्साह जगाउने काम गर्न नसकेको प्रतिक्रिया दिए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले जनतालाई ऋणको भार बढाउने काम गरेको भन्दै बजेटमा भएका गलत कुराहरुको संसदमा विरोध गरिने बताए । बैठकमा डा. गोविन्द पोखरेल, डा. पोषराज पाण्डेय, डा. जगदीश पोखरेल, डा. विश्व पौडेल, प्रभु बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

Shares

Be the first to comment on "बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति गर्दैन : कांग्रेस"

Leave a comment

Your email address will not be published.


*