इश्वर बिश्वकर्मा
चरिकोट, असार २३
दोलखाको सदरमुकाम चरिकोट कृषि बजारस्थित भीमेश्वर नगरपालिकाले बहुउद्धेश्यीय भवन धमाधम निर्माण गरिरहेको छ । निर्माणाधिन भवनको काम सकिन लाग्दा त्यही भवन नजिकैको सडकमा रहेका महत्वपूर्ण संरचनाको विनाश भएको छ । सडकमा रहेका संरचनाको ख्यालै नगरी मनोमानी ढंगले सडकको भित्ता डोजर लगाएर कोर्तदा यस्तो अवस्था भोग्नु परेको हो । सोमबारको अविरल वर्षाका कारण पहिरो जाँदा सडकपेटी, यात्रु प्रतिक्षालय, विद्युतको पोल र नेपाल टेलिकमको क्याबिनेट बक्समा क्षति पुगेको छ । पहिरोले नेपाल टेलिकमको क्याबिनेट बक्समा क्षति पुग्दा बसपार्क र बिचबजार क्षेत्रमा टेलीफोन र एडिएसएल इन्टरनेट सेवा ठप्प भएको छ । पहिरोले क्याबिनेट बक्ससहित तार, ह्याङ्गबल र पोल माथी सडकबाट तल पु¥याएकोले नेपाल टेलिकमको ४० लाख बराबरको क्षति भएको प्रमुख राजु गिरीले बताए । मंगलबार देखि नै सुरक्षित स्थानमा नयाँ क्याबिनेट बक्ससहित अन्य प्रविधि जडान गर्न टेलिकमका प्राविधिकहरु परिचालित छन् । तीनदिनपछि पूर्ण रुपमा सेवा सुचारु भईसक्ने प्रमुख गिरीले बताए । सोही पहिरोका कारण सातदोबाटोको सडकपेटी चिराचिरा परेको छ । स्थानीयका अनुसार एक सय मिटर सडकपेटी चर्किएकाे र ढल फुटेका कारण जुनसुकै बेला पहिरो गई बहुउद्धेश्यीय भवनकै विनाश गर्ने सम्भावना रहेको छ । सडकपेटीको हविगत यस्तो हुँदा पैदल यात्रुलाई आवातजावतमा जोखिम तथा समस्या भएको छ । त्यसैगरी मिलिजुली कालिन्चोक साकोसले बनाइदिएको एकमात्र प्रतिक्षालय पहिरोले भत्काइदिएको छ । प्रतिक्षालय भत्किँदा यात्रुहरु प्रभावित भएका छन् । त्यहीँ बसेर भलाकुसारी गर्ने ज्येष्ठ नागरिक प्रेम बहादुर कार्की र उनका साथीहरु प्रतिक्षालय भत्किएपछि मारमा परेका छन् । प्रेम बहादुर कार्कीले भने ” पहिरो जानुको कारण सडकको भित्ता कोत्रनु हो । यसरी लापरबाही गरेपछि पहिरो जान्छ । भत्कन्छ ।“ पहिरो गएपछि सातदोबाटो कुरुप बनेको छ ।
झाडी बन्दै सडकपेटी
चरिकोट बजारका मुख्य सडक क्षेत्रमा लाखौँ खर्च गरेर सडकपेटी निर्माण गरिएको छ । तर ती सडकपेटी पैदलयात्रु मैत्री छैनन् । अहिले व्यापारीको व्यापार गर्ने स्थल बनेको छ सो सडकपेटी । पैदल यात्रुको मात्र होइन कोरोना जोखिमको समेत वेवास्ता गरी सडकपेटीमै फलफूल, लत्ताकपडा, चटपट र पानीपुरी बेच्ने व्यापारी र किन्ने मान्छेको भीड हुने गरेको छ । त्यसैगरी बेलाबेलामा निर्माणव्यावसायीको लागि निर्माण सामग्री राख्ने ठाउँ पनि सडकपेटी बन्ने गरेको छ ।
यसरी सडकपेटी व्यापारीले अतिक्रमण गर्दा पैदलयात्रुलाई सास्ती हुने गरेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जादैन । भीमेश्वर नगरपालिकामा बजार व्यवस्थापन र नगरको सुरक्षाका लागि नगर प्रहरी समेत रहेका छन् । तर ती नगर प्रहरीको आँखा त्यतातिर जान सकेको छैन् । उनीहरु दयालु भएका कारण पनि सडकपेटी अतिक्रमण हुने गरेको हो । यदी कडा रुपमा प्रस्तुत हुने हो भने सायद पैदल यात्रुले सडकपेटीबाट ढुक्कले आवतजावत गर्न सक्दथे । नगरपालिकाको वेवस्ताका कारण सडकपेटीमा अहिले झारपात उम्रिएर झाडीजस्तै देखिन थालेको छ । बसपार्क क्षेत्र र गौरीशंकर पुस्ताकालय रहेको सडकमा बनाइएको पेटीमा झारपात उम्रिएर घारीमा परिणत भएको छ । सडकपेटीको सरसफाइ गर्न त्यहीँ वरीपरीका स्थानीय र नगरपालिकाको चासो नहुँदा घाँसबिरुवा उम्रिएर झारीजस्तै बनेका हुन् । सडकपेटी घारी बन्दा सर्प लगायतका विषालु किराहरु लुकेर बस्ने हुँदा डरलाग्दो बनेको छ ।
Be the first to comment on "बजारको बीचमैँ पहिरो"