काठमाडौँ (दीस) ः चीन–भारत जोड्ने छोटो सडकमार्गको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माण गर्न दोलखाका सरोकारवालाहरुले माग गर्नु भएको छ । बुधबार उहाँहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर उहाँहरुले यस्तो माग गर्नु भएको हो । उहाँहरुले चालू आर्थिक वर्षमा न्यूनतम रु ५० करोड रकम विनियोजन गरी बहुवर्षीय आयोजनाका रूपमा तत्काल ठेक्का प्रक्रिया सुरु गर्न माग गर्नु भएको छ । सरोकारवालाले बुझाइएको ज्ञापनपत्रमा भनिएको छ “अहिले आयोजनाको बाँधस्थल नजिकै रहेको भिरबाट त्यहाँ सञ्चालित विद्युत् उत्पादकहरूले निजी प्रयासबाट नौ सय मिटर सुरुङ ‘ब्रेक थ्रु’ गरी सडक निर्माण कार्यलाई सहयोग पु¥याएको भए पनि राज्यका तर्फबाट पर्याप्त बजेट विनियोजन नगरिएको र यसअघि विनियोजित न्यून बजेटसमेत खर्च हुन नसकेको उल्लेख छ ।”नेपाल र चीन सरकारबीच यस नाकालाई सञ्चालन गर्ने आपसी सहमति भइसकेको छ”, मागपत्रमा भनिएको छ, “त्यस सन्दर्भलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नाका खुलाउनेगरी सडकलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउन निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराउँदछौँ ।” दोलखाको लामाबगरको बाँधस्थलदेखि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्थलसम्म सडक निर्माण भईसकेको छ । जानकारका अनुसार लामाबगरबाट तिब्बत र नेपालको सिमाना ङ्याङ्लुङसम्म सडक निर्माण सकेमा छिमेकी मुलुक चीनसँग सडक सञ्जाल जोडिने छ। सडक विभागले पटक पटक यो सडक निर्माण गर्न भन्दै बजेट विनियोजन गरे पनि बजेट फ्रिज हुदै आएको छ । ठुला भीर भएका कारण बजेट फ्रिज जाँदै आएको छ । चीनको फलाक नाका खोल्न सकेमा चीन र भारतलाई जोडने छोटो राजर्माग हुने जानकारहरुको भनाई रहेको छ । २ सय ५३ किमीमा यात्रा गर्दा चीन र भारतसँग जोडिने बताइएको छ । मागपत्र बुझाउन पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल र पार्बत गुरुङ, पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामा, प्रतिनिधीका सांसद ईश्वरी रिजाल , पूर्वप्रदेससभा सभासद तथा एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले केन्द्रीय सदस्य श्यामकुमार बस्नेत तथा जिल्ला समन्वय समितिका दोलखाका पूर्वसंयोजक डबल पाण्डेलगायत सहभागी हुनु भएको थियो ।
Be the first to comment on "फलाक नाकाको सडक निर्माण गर्न माग"