प्रि क्वाटरफाइनलमा जापानलाई बराबरी नै पर्याप्त, कोलम्बियालाई जित्नैपर्ने

एजेन्सी। विश्वकप फुटबलको समूह ‘एच’ बाट नकआउट चरण प्रवेश गर्ने टोलीको टुंगो आज लाग्दैछ । पोल्याण्डसँग बराबरीले पनि जापान विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ ।

जापान र पोल्याण्डको खेल रसियाको भोल्गोग्राड एरिनामा नेपाली समयअनुसार राति ७ बजेर ४५ मिनेटमा हुनेछ ।

यसअघि समूह चरणमा जापानले १ खेलमा जित र एक खेल बराबरी खेलेको छ । समूह चरणको पहिलो खेलमा जापानले कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा जापानले सेनेगलसँग २—२ को बराबरी खेलेको थियो ।

यता, पोल्यान्ड भने यसअघि नै दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । पोल्यान्डले पहिलो खेलमा सेनेगलसँग २—१ गोलको पराजय भोगेको थियो । त्यस्तै, दोस्रो खेलमा पोल्यान्ड कोलम्बियासँग ३—० गोल अ्नतरले पराजित भएको थियो ।
यसअघि जापान र पोल्यान्डले २ खेल खेलेका छन् । जसमा दुवै खेलमा जापानले जितेको छ ।

सेनेगलको लागि कोलम्बिया पासो

यता, समूह एच कै अर्को खेलमा नकआउट चरणका लागि सेनेगल र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको समरा एरिनामा हुने यो खेल पनि राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि २ खेल खेलेको सेनेगलले एक खेलमा बराबरी खेलेको छ भने एक खेल जितेको छ । पोल्यान्डलाई २—१ गोलले पराजित गरेको सेनेगलले जापानसँग २–२ गोलको बराबरी खेलेको थियो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ४ अंक बटुलेको सेनेगलका लागि समूह चरणको अन्तिम खेलमा कोलम्बिया पासो बनेको छ । त्यसैगरी, समान दुई खेल खेलेको कोलम्बियाले पनि एक खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । कोलम्बिया जापानसँग २—१ गोलले पराजित भएपनि पोल्यान्डलाई भने ३—० गोलले पराजित गर्दै ३ अंक जोडेको छ ।

आज सेनेगललाई पराजित गर्न सके कोलम्बिया नकआउट चरण पुग्नेछ । तर सेनेगलसँग पराजित भएमा कोलम्बिया समूह चरणबाटै बाहिरिने छ भने सेनेगल नकआउट चरणमा पुग्नेछ ।

Shares

Be the first to comment on "प्रि क्वाटरफाइनलमा जापानलाई बराबरी नै पर्याप्त, कोलम्बियालाई जित्नैपर्ने"

Leave a comment

Your email address will not be published.


*