प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी २ दिने तालिम सुरु

विनोद शर्मा,– भीमेश्वर नगरपालिकाको आयोजनामा वडा स्तरीय सरोकारवालाका लागि विपद प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी तालिम सुरु भएको छ । मँगलबारसम्म सञ्चालन हुने तालिमको उपमेयर कमला बस्नेतले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ । उद्घाटनमा बोल्दै उपमेयर बस्नेतले नगरपालिका स्तरको विपद् व्यवस्थापन समितिले वडा तथा समुदायस्तरमा जनशक्ति तयारी गर्नका लागि आवश्यक महशुस गरेकोले तालिम आयोजना गरेको जानकारी दिनुभयो । ‘लगातारको वर्षाले पुर्याएको क्षतिको सम्बोधनका लागि भनेर नगरपालिकामा वडा तथा बस्तीबाट ८० भन्दा बढी निवेदन दिनु भएको छ । आवश्यक तयारी भइनसकेका कारण तत्काल सम्बोधन गर्न सकिने अवस्था छैन । नगरपालिका प्रयासरत छ ।’ बस्नेतले भन्नुभयो, ‘यो तालिम पनि समुदाय स्तरको पूर्वतयारी स्वरुप हो । भोलीका दिनमा विपदका घटनामा यहि जनशक्तिलाई परिचालन गरेर प्रारम्भिक द्रुत लेखाजोखा गर्नुपर्छ ।’
नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति इन्जिनियर सुरेश राउतले नगरस्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालालाई यस अघि नैं २ दिनको तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।
‘समुदायस्तरमा समेत प्रारम्भिक द्रुत लेखाजोखा गर्न आवश्यक जनशक्ति तयारी गर्दै विपद् व्यवस्थापन समितिलाई सक्रिय गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको छ । विपद पश्चात क्षतिको आँकलन गर्न र तत्काल गर्नु पर्ने कामका बारेमा विवरण संकलन गर्ने जनशक्तिका रुपमा उहाँहरुलाई सूचीकृत गरि आवश्यकता अनुसार परिचालन गर्ने योजना छ ।’ राउतले भन्नुभयो, ‘पहिला हामीले फारम भरेरै विवरणहरु संकलन गथ्र्यौं अहिले त मोबाइल डिभाइसको प्रयोग गरेर विवरण संकलन गर्ने आइआरए नेपाल नामको एप बनिसकेको छ । त्यहि एपको प्रयोग गरेर विवरण संकलन गर्ने सीप समेत सहभागीले सिक्नुहुन्छ ।’
उद्घाटन शत्रमा बोल्दै हुराडेक नेपालका सचिव जिवसराज खड्काले वडा तथा समुदायस्तरमा जनशक्ति तयारीका लागि तालिम गरिएकोले यस तालिमले विपद् लगत्तैको प्रारम्भिक द्रुत लेखाजोखाका लागि मार्गदर्शन गर्ने अपेक्षा राखिएको बताउनुभयो ।
युरोपेली आयोगको मानवीय सहायता विभाग र युएनडिपीको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था हुराडेक नेपालसँगको समन्वयमा भीमेश्वर नगरपालिकाले तालिम आयोजना गरेको हो । यसअघि भएको नगरस्तरीय तालिममा नगर विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, सुरक्षा निकाय, साझेदार संघ संस्था, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । यस तालिममा वडास्तरीय विपद व्यवस्थापन समितिका संयोजकहरु, सदस्य सचिवहरु, टोल सुधार समिति, युवा क्लव, स्वयंसेवक समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । युएनडिपीले स्थानीय साझेदार संस्था हुराडेक नेपाल र सिडिएफ नेपालसँगको सहकार्यमा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना कार्यान्वयन गरिरहेको छ ।

Shares

Be the first to comment on "प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी २ दिने तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*