प्राङ्गारिक मलको प्रयोग बढाउदैँ शैलुङ गाउँपालिका वडा नं ४ का किसानहरु

इश्वर बिश्वकर्मा

चरिकोट, भदौ ११
शैलुङ गाउँपालिका वडा नं ४ मागापौवा स्थित निगाले गाउँकी पार्वती ढुङ्गेलको १५ रोपनीभन्दा बढी खेतबारी छन् । करिब ४ वर्ष अघि अन्नबाली लगाउँदा रासायनिक मल प्रयोग हुन्थ्यो । रासायनिक मल पाउन पनि धेरै समय र पैसाको खर्च हुने गरेको थियो । रासायनिक मल प्रयोगले माटो पनि बिस्तारै बिग्रँदै गएको थियो । तर २०७५ सालको चैतमा दुई गैरसरकारी संस्थाले कम्पोष्ट मलसम्बन्धी तालिमको आयोजना गर्यो। ७ दिने उक्त तालिममा सहभागी भई उनले पनि कम्पोष्ट मल बनाउने विधी र जानकारी लिइन् ।

तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पार्वतीले कम्पोष्ट मल बनाउन तर्फ लागिन् । अहिले उनले ३ वटा खाडलमा झारपात, रूखबाट झरेको पात, कलिला बोटको डाँठ, जरा, गोबर, तरकारी केलाएर फ्याँकिने बोक्राहरु, खरानी, वनमाराका को पातहरु कुहियाएर कम्पोष्ट मल बनाउने गरेकी छन् । उनिसँगै परिवारका सदस्यहरु बेला बेला कम्पोष्ट मलको रेखदेख गरि ओल्टाईपल्टाइ गर्छन् । पुर्णरुपमा मल बनेपछि खेतबारीमा प्रयोग गर्दछन् । उनको खेतबारीमा प्राङ्गारिक तरकारी र अन्नबाली उत्पादन हुने गरेको छ ।
उनि भन्छिन् “अहिले न त रासायनिक मल किन्नु परेको छ । न त मल पाइदैन कि भन्ने चिन्ता नै गर्नु परेको छ । कम्पोष्ट मल बनाउन थालेपछि धेरै सजिलो र फाइदा भएको छ ।” तरकारी र अन्नबाली धेरै उत्पादन प्राङ्गारिक मलको प्रयोगबाट हुने भएकोले कम्पोष्ट मलको प्रयोगमा जोड दिएको पार्वती बताउँछिन् ।
प्राङ्गारिक मलको प्रयोग कम हुँदा माटोले काम गर्न छाडिसक्यो । कम्पोष्ट मल माटोमा धेरै समय सम्म रहिरहने र आफुलाई पायक पर्ने ठाउँमा तयार गर्न सकिन्छ । माटोको उर्वराशक्ति बढाउने महत्वपूर्ण उपाय मध्ये प्राङ्गारिक मलको प्रयोग गर्नु हो ।  प्रांगारिक मल बनाउदा फोहोर व्यवस्थापन पनि सहयोग पुगेको उनि बताउँछिन् । उनले अहिले जैविक मल पनि बनाउन थालेकी छन् । गाउँका अरु किसानलाई पनि प्राङ्गारिक मल महत्वबारे बताउदैं रासायनिक मल कम गर्दै प्राङ्गारिक मल प्रयोग गर्न सिकाउने र जनचेतना फैलाउने कार्य उनले गर्दैआएकी छन् ।

सोही तालिम लिएका गणेश सुवेदीले पनि आफ्नो तरकारी बालीमा कम्पोष्ट मल प्रयोग गर्न थालेका छन् । उनले यहि बर्षको चैत महिनाबाट कम्पोष्ट मल बनाउन थालेका हुन् ।
सुवेदि भन्छन् “तरकारी खेतीमा कम्पोष्ट मलको प्रयोग गर्छौं । तर धान बाली र अन्नबालीमा भने कम्पोष्ट मल पर्याप्त नभएकोले केहि मात्रामा रासायनिक मल पनि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अब कम्पोष्ट मलको मात्रा बढाएर रासायनिक मल प्रयोगमा बन्दै गर्ने योजना बनाएका छौं ।”
त्यसै गरि विन्दा ढुङ्गेल पनि प्राङ्गारिक उत्पादनलाई जोड दिनुपर्दछ भनि कम्पोष्ट मल प्रयोग गर्दै आइरहेकी छिन् । उनि भन्छिन् “अहिले कम्पोष्ट मल पर्याप्त बनाउन सकिएको छैन । अब त्यसलाई बढाएर रासायनिक मललाई हटाउने तर्फ लागेका छौं ।”
उनले भनिन्  “आर्गानिक तरकारी र अन्नबाली खान चाहने धेरै छन्, माग पनि उतिकै रहेको छ । त्यसलाई परिपुर्ति गर्न र रासायनिक मल विस्थापन गर्न प्राङ्गारिक मलको प्रयोग गरेका हौँ ।” पार्वती, गणेश र विन्दाले झैं कम्पोष्ट मलसम्बन्धी तालिम लिएका निगाले र पुरानो गाउँका १२ जना कृषकहरुले आफ्नो खेतबारीमा रासायनिक मल कम गरि प्राङ्गारिक मलको प्रयोग बढाएका छन् ।

तस्बिर : युवराज ढुङ्गेल

Shares

Be the first to comment on "प्राङ्गारिक मलको प्रयोग बढाउदैँ शैलुङ गाउँपालिका वडा नं ४ का किसानहरु"

Leave a comment

Your email address will not be published.


*