प्रहरीद्वारा ७ सय जनाको उद्धार

दीक्षण समाचार
चरिकोट, ५ फागुन
प्रहरीले हिउँमा फसेका ७ सय पर्यटकहरुको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल चरिकोटबाट गएको प्रहरी टोलीले आइतबार र सोमबार गरी १२० वटा साना ठूला सवारी साधन र ७ सय बढी पर्यटकको उद्धार गरेको हो ।
शनिबार साझदेखि हिमपातका कारण कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न सयौँको संख्यामा आएका पर्यटकहरु बिच बाटोमा अलपत्र परेका थिए । पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाबाट प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली उद्धारमा साँझ खटिएको थियो । उद्धारमा नेपाल प्रहरी टोली तथा शसस्त्र प्रहरी बल समेत गरी जम्मा २२ जनाको सयुक्त उद्दार टोली उद्दार सामाग्रीहरु साथ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
टोलीले शनिबार ४ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । प्रहरीले जाडोले कठ्याङ्रियर रातभर सवारी साधनमै बसेका महिला, बालबालिका, बृद्ध बृद्धाहरुलाई रात कटाउन टोलीले साथमा लगेको ब्लाङकेट सहयोग गर्नुका साथै चाउचाउ र बिस्कुट समेत बितरण गरेको जनाएको छ । प्रहरीले कालिञ्चोक जाने बाटो यात्रुहरुका लागि अझै जोखिम र असुबिधा जनक रहेकोले यात्रा गर्न साब्धान अपनाउन आग्रह गरेको छ ।
नेपाल प्रहरीका डिआइजी मनोज नेउपाने पनि शनिबार कालिञ्चोक जाँदा फसेका थिए । उनलाई समेत प्रहरी टोलीले उद्धार गरेको थियो । ३ हप्ता अघि पनि कालिञ्चोक क्षेत्रमा हिउँमा परेकाहरुलाई प्रहरीले उद्धार गरेको थियो ।

Shares

Be the first to comment on "प्रहरीद्वारा ७ सय जनाको उद्धार"

Leave a comment

Your email address will not be published.


*