काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।
भेटघाटपश्चात् किमले ट्रम्पसँग भट्दा खुसी लागेको बताएका छन् । उनले प्रतिक्रियाका क्रममा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ भनेका बीबीसीले उल्लेख गरेको छ ।
सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच अाज बिहान ५० मिनेटसम्म भेटवार्ता चलेको थियो ।
ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ ।
यसअघि भेटमा क्रममा ट्रम्प र किमले आपसमा हात मिलाएका थिए । दुर्ई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो ।
ट्रम्प र किमको भेट र दुई देशबीचको उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ।
भेटपछि मिडियासँग ट्रम्पले भनेका थिए ‘ शिखर सम्मेलन निकै सफल हुने आशा गरेको छु । हामीबीच एक असल सम्बन्ध स्थापित हुनेछ ।’
यस्तै किमले भनेका थिए, ‘विभिन्न अन्योलताका बीच हामी बैठकका लागि सिंगापुर आइपुगेका छौं । हामी ती सबै चुनौतिका बीच पनि यहाँ छौं ।’
आणविक कार्यक्रमले आलोचित उत्तर कोरियाका सर्वोच्च नेता किम र ट्रम्पबीच आणविक कार्यक्रमको अन्त्यका विषयमा केन्द्रीत रहेर वार्ता भएको ठानिएको छ ।
Be the first to comment on "बहुप्रतिक्षित भेटपछि किमले ट्रम्पलाई के भने ?"