प्रधानमन्त्री दहालद्वारा माथिल्लो तामाकोसीको विद्युत निर्यात अनुमति नपाएको विषय उठान

चरिकोट ः भारत भ्रमणमा रहनुभएका प्रधान मन्त्री पुस्पकमल दहालले नेपालले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात गर्न नपाएको विषय उठान गर्नु भएको छ । विहीवार नयाँ दिल्लीमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द मोदीसँगको वार्ताका क्रममा दहालले उक्त कुराको उठान गर्नु भएको हो ।
हैदरावाद हाउसमा मोदिसँगको वार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा माथिल्लो तामाकोसी सहित १२ सय मेगावाट विजुली भारत निर्यात गर्न आफुले अनुमति दिन मोदी समक्ष आग्रह गरेको प्रधानमन्त्री दहालले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
नेपालले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतीय ऊर्जा एक्सचेन्ज बजारमार्फत प्रतिस्पर्धी दरमा निर्यातका लागि अनुमति माग गर्दै आएको २ वर्षभन्दा बढी समय ब्यतित भइसकेको छ । भारतले आयोजना निर्माणमा चिनियाँ कम्पनी सहभागी भएको भन्दै भारतमा निर्यात अनुमति दिएको छैन । यसअघि गत वर्ष विद्युत् प्राधिकरणले खुला बजारमा चार सय ५२ मेगावाटसम्म विद्युत् भारतमा निर्यात गरेको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्णरुपमा नेपालको लगानीमा निर्मित राष्ट्रिय गौरवको आयोजना हो ।
आयोजनामा नेपाल सरकारको १२ अर्ब, कर्मचारी सञ्चयकोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब ९० करोड, राष्टिूय बीमा संस्थानको दुई अर्ब ८० करोड र नागरिक लगानी कोषको दुई अर्ब रुपैयाँ लगानी छ । १० अर्ब ५९ करोडको स्वपूँजीसहितको यो आयोजनामा प्राधिकरणको ४ अर्ब ३४ करोड, नेपाल टेलिकमको ६३ करोड, नागरिक लगानी कोषको २१ करोड, राष्ट्रिय बीमा संस्थानको २१ करोड, कर्मचारी सञ्चयकोष र बचतकर्ताको १ अर्ब ८२ करोड, तामाकोशी जलविद्युत कम्पनी र प्राधिकरणका कर्मचारीको ४० करोड, कर्जा प्रदायक संस्थाका कर्मचारीहरुको ३० करोड, दोलखाका स्थानीय बासिन्दाको १ अर्ब ५ करोड र सर्वसाधारणको १ अर्ब ५८ करोड सेयर पूँजी रहेको छ । आयोजना दोलखा जिल्लामा निर्माण भएको माथिलो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाट क्षमताको रहेको छ । यसका साथै नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको राससको भनाई रहेको छ ।

Shares

Be the first to comment on "प्रधानमन्त्री दहालद्वारा माथिल्लो तामाकोसीको विद्युत निर्यात अनुमति नपाएको विषय उठान"

Leave a comment

Your email address will not be published.


*