प्रत्यक्ष साक्षात्कारले बढाएको संवेदनशीलता

जानुका न्यौपाने

सडक निर्माण र सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले वर्षेनी करोडौं रुपैंयाँ खर्च गरे पनि सवारी साधनको जाँच गर्ने, सडक नियम पालना गर्ने, सडकको अवस्थामा सुधार ल्याउने जस्ता कार्यहरु अत्यन्तै न्यून भएको पाइन्छ । नेपालमा सडक दुर्घटनाका कारण वार्षिक ३२ सयभन्दा बढीको ज्यान जाने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । दुर्घटना पछि अंगभंग भएर बाँच्न विवशहरुको संख्या त्यो भन्दा बढी हुने गरेको छ । यस्ता दुर्घना हुँदा सबैलाई दुःख त लाग्ने नै भयो तर फेरि पनि पीडित भने महिलाहरु नै बढी हुने गरेको पाइयो ।
सन्दर्भ अघिल्लो साता विगु गाउँपालिकामा भएको दुर्घटनाको हो । त्यहाँ दुर्घटनामा परि घाइते हुनेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना निधन हुनेहरु प्रति भावपूर्ण समवेदना । यहि समयमा निधन हुनेहरुको परिवारसँग भेट गर्ने मौका मिलेको थियो । जहाँ पुग्दा बस्ती नै भावविव्हल भएको थियो । बस्ती रोएको थियो । कोही कसैसँग आँखा जुधाएर, अनुहारमा हेरेर कुराकानी गर्नसक्ने अवस्थामा थिएनन् । पीडाले क्षतविक्षत पारेको बस्तीमा परिवारका सदस्यको निधन भएका घरपरिवाजनसँग प्रत्यक्ष साक्षतकार गर्ने मौका मिल्यो ।
यस्तो संवेदनाको घडीमा पनि विशेषगरी मनोवैज्ञानिक असरको उच्च चाप महिलामा नै पर्ने देखियो । एकजना पीताको मृत्यू, २ र पाँच वर्षे बालक २३ वर्षे पत्नी त्यहाँको अवस्थालाई नियाल्दा, अनि २ वर्षे र पाँच वर्षे बालिका माताको निधन २५ वर्षे पिता भएको दुबै संवेदनशील अवस्था देखें मैले अन्य मृतक परिवारको अवस्था पनि कम गम्भिर छैन । सबै परिवारको संवेदनशील अवस्थालाई नियालें मैले । तर, दुई घटना जहाँ स–साना बालबालिका दुबै परिवारका उस्तै उस्तै । मात्र फरक के भयो भने आमा हुनेको बच्चाले अलि माया, ममता, स्नेह प्राप्त गर्ने भए भने आमा गुमाउने छोरीहरुले भने सोचे अनुरुप माया, ममता, स्नेह पाउन असहज होला कि भन्ने आशंका मेरो मनमा उब्जियो तत्कालै । किनकि उनीहरुका पीताले केही महिना वा वर्ष पछि अर्को बिबाह गर्नेछन् अनि ती आमा गुमाएका छोरीहरुको के हालत होला भनेर अत्यन्तै संवेदनशील भएर गुनासो गर्ने मानिसहरु त्यहिँ भेटें मैले । उता छोराको मुख हरेर बस्नु पर्छ आमाले यिनै छोराहरु हुर्काउनु पर्छ भन्ने दायित्व बुझाउने मानिस पनि त्यहीँ भेटें मैले । एकातर्फ छोराहरुको मुख हेरेर बस्नु पर्छ भनि दायित्व बुझाईंरहँदा छोरी हुर्काउनु पर्छ छोरीको मुख हेरेर बस्नु पर्छ भन्ने दायित्व बुझाउने कोहि पाईएन त्यहाँ । अनि छोरा हुर्काउ भन्ने जमात पनि त्यहिँ छ अर्को तर्फ छोरी हुर्काउ यिनै छोरीको मुख हेरेर बस्नु पर्छ नभनि केही समय पछि घर चलाउन अर्को बिबाह गर्नु पर्छ भन्नेहरु पनि त्यहिँ भेटें । त्यसैले भनें अन्य पक्षबाट सामाजिक रुपमा एकल महिलाहरुलाई पीडित बनाईदै आएको थियो नै सडक दुर्घटनाले पनि महिलाहरुलाई थप दर्द थपेर र पीडित बनाएको छ । यो दुर्घटनाले समग्र मानिसहरुलाई संवेदनशील बनाएको छ नै तर महिलाहरु झनै पीडित बन्न बाध्यात्मक अवस्था सिर्जना हुने रहेछ । यसरी हेर्दा डोजरे विकास अनि सडक मात्र विकास मान्ने हाम्रो दृष्टिकोणमा पनि सुधार ल्याउनु पर्ला कि । किनकि समाजिक सचेतना पनि महत्वपूर्ण हुने कुरा महशुस गरें मैले त्यहाँ ।
अब लापर्वाही कसको ?
सवारी चालकको ? सडकको दयनीय दुरावस्थाको ? क्षमता भन्दा धेरै भार बोक्ने प्रवृत्तिको कसको हो ? त्यो त स्थानीय सडक उपभोक्ताहरुले नियालेकै होला । हामीले दिनहुँ जसो सुन्ने गरेको समाचारलाई विश्लेषण गर्दा ठूला दुर्घटना विशेषगरी पहाडी सडकमा हुने गरेको सुनिन्छ । त्यही समाचार मध्ये विगु गाउँपालिकाको दुर्घटना पनि समावेश भयो । हुन त सरकारी पक्षबाट हरेक सडक निर्माणमा सडक सुरक्षाको छुट्टै काम हुन्छ भनेर बजेट छुट्याइन्छ तर खै कहाँ खर्च भयो त सडक सुधारको करोडौं बजेट ? सडको नक्सा बनाउँदादेखि निर्माण सम्पन्न गर्दासम्म अनि सडक सुरक्षा अडिटमा पनि बजेट खर्च गरिन्छ रे । तर कसले, कहाँ, कसरी, कहिले गरेका छन् सडक सुरक्षा अडिट यसको तथ्य सार्वजनिक गरिनु हरेक तहका सरकारहरुको जिम्मेवारी हो । विगु गाउँपालिकामा भएको यो संवेदनशील घटना पहिलो होइन तर सबै स्थानका दुर्घटनाहरु महिलाहरुका लागि अत्यन्तै पीडादायी र खतरा बनेर उपस्थित भएका छन् । त्यसकारण सडकको सम्वृद्धि नै सर्वस्व हो भनेर ठानीरहँदा यस्ता घटनाहरुले महिलाहरु दुःखीरहेकाछन् । सडको सम्वृद्धि, सुरक्षा, नियम पालनाका लागि सचेतना खै ? यस्तो अवस्थामा देशभरका सबै सडकहरु सुरक्षित सडक कहिले बन्लान् ? सबै सडकहरुमा ट्राफिक संकेत बत्ती तथा चिन्हहरु कहिले र कसरी राखिने हुन्, सडक नियम कहिले पालना होला सबै पक्षबाट ? के त्यसको सचेतना आवश्यक छैन ? त्यो सबै सडक प्रयोगकर्ताहरुका लागि कौतुहलताको विषय बनिरहेको छ, सुरक्षित सडकको अपेक्षा पीडित परिवार अनि समुदायका सडक प्रयोगकर्ताहरुले गरिरहेका छन् । अनि आगामी दिनमा यस्ता सडक दुर्घटना कहिल्यै नहुन भनेर शुभेक्षा प्रकट गरिरहेका छन् सबैले । अपुरणीय मानवीय क्षती कम गर्न सर्वपक्षीय ध्यान जानु आजको आवश्यकता हो ।

Shares

Be the first to comment on "प्रत्यक्ष साक्षात्कारले बढाएको संवेदनशीलता"

Leave a comment

Your email address will not be published.


*