नवराज शिवाकोटी चरिकोट÷प्रतिनिधिसभा सदस्यको लागि एक निर्वाचन क्षेत्र रहेको दोलखा जिल्लामा मुख्य प्रतिश्पर्धा एमाले र लोकतान्त्रिक–बाम गठबन्धन विचमा हुने देखिएको छ । नेकपा एमाले र गठबन्ध दुवैको स्थानीय निर्वाचनको मत भार हेर्दा यस्तो देखिएको हो ।
नेकपा एमालेले युवा ब्यावसायी एवं नेकपा एमाले बाग्मती प्रदेश सदस्य बालकृष्ण शिवाकोटीलाई प्रतिनिधिसभा सदस्यको उमेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की ‘विश्व’ उमेदवार बन्नु भएको छ । शिवाकोटी तथा कार्की दुवै पहिलो पटक निर्वाचन लड्दै हुनुहुन्छ ।नेकपा एमालेले दोलखाका पुराना हस्ति नेता आनन्द प्रसाद पोखरेल तथा पार्वत गुरुङलाई पन्छाउँदै एमालेले युवा ब्यावसायी शिवाकोटीलाई उम्मेदवार बनाएको छ ।
यस्तै,गठबन्धनबाट नेपाली काँग्रेसका नेता जिपछिरिङ लामा उम्मेदवार बन्ने चर्चा भएपनि उहाँले चुनाब लड्न अस्विकार गरेपछि रामेछाप जिल्लामा प्रतिनिधि सभामा नेपाली काँग्रेसले चुनाव लड्ने तथा दोलखामा माओवादी केन्द्रका उम्मेदवार हुने गठबन्धन दलमा सहमति भएपछि गंगा कार्की उम्मेदवार बन्नु भएको हो ।
नेकपा माओवादी केन्द्रको भागमा संघ परेपछि वर्तमान बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का अथवा पूर्व मत्री देवी खड्का प्रतिनिधि सभा सदस्यमा लड्ने चर्चा चलेपनि अन्त्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट पुराना नेता तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्कीलाई माओवादी केन्द्रले उम्मेद्वार बनाएको थियो ।
यस्तै राप्रपाले केन्द्रीय सहायक महामन्त्री विजय खड्कालाई प्रतिनिधिसभा सदस्यको उमेद्वार बनाएको छ । उहाँपनि पहिलो पटक निर्वाचन लड्दैहुनुहुन्छ ्। यस्तै ,स्वतन्त्र पार्टीले जगदिश खरेललाई उम्मेद्वार बनाएको छ । नेपाल मजदुर किशान पार्टी, नेपाली काँग्रेस विपी,राप्रपा नेपाल लगायतका दलहरुले पनि प्रतिनिधि सभा सदस्यका लागि दोखलामा आफ्ना उम्मेदवार खडा गरेका छन् ।विभिन्न दलहरुले उमेदवार खडा गरेपनि दोलखामा मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनका उम्मेद्वार विचमा नैं हुने दोलखाका राजनैतिक विश्लेषकहरुको भनाई रहेको छ । परम्परागत रुपमा दोलखा एमालेको गढ मानिन्छ । विगतका निर्वाचनको तथ्यांक हेर्दा २०४८ साल देखि हालसम्मका निर्वाचनमा प्रायःएमालेका उमेदवारहरुले नैं निर्वाचन जित्दै आएका छन् ।
बहुदलीय ब्यवस्थाको पूनः स्थापना भई नेपाल अधिराज्यको संविधान २०४७ जारी भएपछि भएका निर्वाचनहरुमा एकपटक प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा नेपाली काँग्रेसका स्व. भीमबहादुर तामाङ निर्वाचित भए बाहेक नेपाली काँग्रेसले दोलखामा प्रतिनिधिसभाको कुनै निर्वाचन जितेको छैन । शान्ति प्रकृया सम्पन्न भएपछि भएको २०६४ सालको संविधान सभा निर्वाचनमा भने दोलखाका दुवै क्षेत्र तत्कालिन नेकपा माओवादीका उम्मेदवारले जितेका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने पूनः दुवै क्षेत्रमा एमालेका उम्मेद्वारहरु विजयी भएका थिए । यस्तै ,२०७४ मा भएको निर्वाचनमा एकमात्र क्षेत्र रहेको प्रतिनिधि सभामा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन लड्दा पावर्त गुरुङ ठूलो मतान्तरले विजयी हुनु भएको थियो । त्यस्तै,पहिलो संविधान सभामा एक पटक दुवै क्षेत्र जितेपछि नेकपा माओवादी केन्द्र पनि दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएको थियो । अहिले नेकपा एमाले एक्लै निर्वाचन लड्दैछ।तर, गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र तथा नेकपा समाजवादी रहेका छन् । दुवै पक्षले आ–आफ्नो जित सुनिश्चित बताइरहे पनि दोलखामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ । एमालेका बालकृष्ण शिवाकोटी सफल ब्यावसायी मानिनु हुन्छ । दोलखामा नीजि क्षेत्रको ठूलो लगानी भित्र्याउने श्रेय पनि शिवाकोटीलाई नै जान्छ । उहाँ विकासका एजेन्डा बाँकी निर्वाचन प्रचारमा लागेका छन् । यस्तै ,गठबन्धनका उमेदवार गंगा कार्की माओवादी दोलखाका संस्थापक नेता हुनुन्छ । जनयुद्धमा लामो समय लागेका उहाँ शालिन ब्यक्तित्व अनि बेदाग छवी भएका नेता हुन् । आफूले जनताका पक्षमा राजनीतिमात्र गरेर अन्य पेशा नगरेकोले जनताको दुःख सुखको साथी आफू नै भएकोदावी गर्दै उहाँ पनि विकासका एजेन्डा लिएर निर्वाचन प्रचारमा जुट्नु भएको छ ।
एमालेका उमेदवार शिवाकोटी प्रदेश सभा क्षेत्र नम्बर दुईका भएकाले स्वभाविक रुपमा क्षेत्रीयताको लाभ उहाँलाई प्रदेश दुईमा हुनसक्ने बताइन्छ । जितविर लामाले २०४८ सालमा तथा २०६४ को पहिलो संविधान सभा निर्वाचनमा हेम श्रेष्ठले निर्वाचन जिते बाहेक क्षेत्र नम्बर दुईमा क्षेत्र नम्बर एकका नेताहरुनैं आएर चुनाव लड्ने गरेका छन् । यो पटक संघीय संसदको उम्मेदवार प्रदेश सभा क्षेत्र नम्बर दुईबाट नै भएकोले यसको लाभ शिवाकोटीले पाउने सम्भावना रहेको छ । तर क्षेत्र नम्बर एकमा भने उहाँ कम परिचित रहेको बताइन्छ । तर एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीका दोलखामा उम्मेदवार नभएकोले त्यसको लाभ तथा गठबन्धनका असन्तुष्टहरुको मतले शिवाकोटीलाई लाभ हुन सक्ने एमाले निकट बुद्धिजिवीहरु बताउँछन् ।गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गंगा कार्की अहिलेसम्म कुनै पनि विवादमा नपर्नु भएका नेता मानिनु हुन्छ । गठबन्धनको साथ पाएकोले गठबन्धनको लाभ उहाँलाई हुने बताइन्छ । गत स्थानीय निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये सातवटामा प्रमुख पदमा गठबन्धनले जितेकोले यसको लाभ उहाँलाई हुने सम्भावना छ । गठबन्धनले जितेका सात मध्ये तीन स्थानीय तहमा माओवादी केन्द्रका प्रमुख विजय भएका छन् भने तीनमा नेपाली काँग्रेस तथा एकमा एकिकृत समाजवादीले जितेको छ । यसका कारण कार्कीेलाई सहज हुने गठबन्धनमा संलग्न नेताहरुको दावी छ । गंगा कार्कीले टिकटपाएपछि सुस्तरुपमा बसेका पुराना माओवादी कार्यकर्ताहरु समेत पूनःसक्रिय भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ । तर गठबन्धनका असन्तुष्ट पक्षले अन्तरघात गर्न सक्ने खतरामा पनि उहाँ हुनुहुन्छ ।
यस्तै ,स्वतन्त्र पार्टीका जगदीस खरेल तथा राप्राका विजय खड्काले एमाले वा गठबन्धनको कुन पक्षका कति मत काट्छन् त्यसबाट पनि को विजयी हुन्छ भन्ने कुरामा प्राभाव पार्ने छ ।
एमालेको परमपरागत गढ दोखलामा आफ्नो संगठन बजबुत रहेको तथा दोखलाको विकासमा एमालेले गरेको योगदानका कारण यो निर्वाचनमा गठबन्धनलाई पराजित गर्न खासै समस्या नहुने नेकपा एमाले दोलखाका सचिब हिरा थोकरले बताउनु भयो । गत वर्ष भएको स्थानीय निर्वाचनमा पार्टी भित्र केही समस्या भएकोले अपेक्षित राम्रो परिणाम नआए पनि अहिले एमाले एक जुट भएको उहाँको भनाई छ । एमालेले पटक–पटक निर्वाचन जितेर पनि दोलखाको विकासमा ठोस योगदान दिन नसकेका कारण आम दोलखाली आजित भएर स्थानीयतह निर्वाचनमा सातवटामा गठबन्धनलाई जितलाई एमालेलाई दुई पालिकामा सिमित गरिदिएको नेपाली काँग्रेसका सचिब रञ्जित कुमार पाठकले बताउनु भयो । गुलिया आश्वासनको भरमा निर्वाचन जित्ने जमाना गएको बताउँदै यो पटकको निर्वाचनबाट एमाले दोलखामा अझै साइजमा आउने उहाँले ठोकुवा गर्नु भयो ।
यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुल बहादुर बुढाथोकी यो निर्वाचनमा गठबन्धनलाई विजयी हुनबाट रोक्ने सामथ्र्य कसैको नभएको दाबी गर्नुहुन्छ । नेकपा माओवादी दोलखाका संस्थापक नेता नै प्रतिनिधिसभा सदस्यका उमेद्वार भएकोले आमजनताको सहानुभूति कार्की प्रति रहेको उहाँको भनाई छ । साथै गठबन्धन एकजुट भएर निर्वाचनमा लागेकोले स्थानीय तहको भन्दा राम्रो परिणाम यो निर्वाचनमा आउने उहाँले दावी गर्नु भयो ।यस्तै गठबन्धनको अर्को साझेदार दल नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष भीम दहाल केन्द्रमा गठबन्धन भएपछि जिल्लामा पार्टीका नेता कार्यकर्ताले गठबन्धनका उमेद्वार जिताउन पूर्ण सहयोग बताउनु हुन्छ । आफ्नो पार्टीलाई देशका अन्य क्षेत्रहरुमा गठबन्धनले सहयोग गर्ने भएकोले समाजवादी समर्थकको मत गठबन्धन बाहेक अन्यत्र नजाने उहाँको भनाई छ ।
Be the first to comment on "प्रतिनिधिसभामा दोलखामा दुईपक्षीय प्रतिस्पर्धा"