पौरखी कृषि सहकारी संस्थाद्धारा कृषक अञ्जु भारती सम्मानित

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २७
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चोथाङ्गमा रहेको पौरखी कृषि सहकारी संस्था लिमिटेडको १२ औँ तथा एकीकरण पछिको दोस्रो वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ । चार हजार ३२ जना शेयर सदस्य रहेको संस्थाको मकैबारी, उखुबारी, रामकोट सहित चरिकोट सेवा केन्द्रमा क्षेत्रगत रुपमा साधारण सभा मंसिर ४ गते सम्म गरिने सहकारीले जनाएको छ ।
शनिबार संस्थाको मुख्य कार्यालय चोथाङ्गमा साधारण सभाको उद्घाटन गरी सुरु गरिएको हो । सभाको उद्घाटन भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले पानसमा बत्ति बालेर गर्नुभयो । उद्घाटन समारोहमा संस्थाका सचिव गोकर्ण बस्नेतले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन र चालु आव २०७८÷०८९ को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको भयो । प्रस्तुतिका क्रममा सचिव बस्नतेले सहकारीले वित्तिय कारोबारका साथै कृषकहरुलाई तालिम, कृषि यन्त्र, उपकरण तथा बिउविजन वितरण लगायत कृषक र कृषिलाई टेवा पुग्ने कार्यलाई निरन्तरता दिइएको सुनाउनुभयो । आधुनिक र व्यावसायिक कृषिमा युवा आकर्षण बढाउन तथा टिकाइराख्नको लागि यी गतिविधि गरिएको हो । उहाँको अनुसार गत वर्ष कृषकहरुसँग छलफल गर्नुका साथै तीन दिने तालिमको आयोजना गरिएको थियो । त्यसैगरी ८५ जना कृषकलाई फलामको टनेला, मिनिटिलर, स्प्रे, थोपा सिंचाई पाइप लगायतका यन्त्रउपकरण सहित तरकारी र अन्नबालीको बिउविजन वितरण गरिएको थियो ।

कोषाध्यक्ष गोकुलप्रसाद न्यौपानेले गत आवको आर्थिक प्रगति प्रतिवेदन सुनाउँदै संस्थामा उपलब्ध जनशक्ति र स्रोतसाधनलाई उचित व्यवस्थापन गर्दे संस्थाको क्षमता अनुसार सेवा प्रदान गरिरहेको र सेवा प्राप्त गर्ने संस्थाका सदस्यहरु सन्तुष्ट रहेको दाबी गर्नुभयो । उहाँले संस्थाको कुल पुँजी १६ करोड ८९ लाख ९७ हजार ७ सय रुपैयाँ र गत वर्ष संस्थाले २८ लाख ७५ हजार ७ सय ९ रुपैयाँ खुद नाफा कमाउन सफल भएको सुनाउनुभयो । गत वर्ष कोभिड संक्रमण भई चरिकोट अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना खुवाउनको लागि लालीगुँरास युवा क्लबलाई सात हजार रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक हरिशरण न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कृषक अञ्जु भारती सम्मानित
साधारण सभा उद्घाटनको क्रममा १० वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहनुभएका संस्थाका सदस्य अञ्जु भारतीलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको छ । उहाँलाई नगर प्रमुख भरत केसीले सम्मानपत्र प्रदान गर्नुका साथै संस्थाका अध्यक्ष हरिहर प्रसाद न्यौपानेले नगद हस्तान्तरण गरी सम्मान गर्नुभयो । अञ्जु भारतीले भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा उहाँको न्यौपाने एग्रिक्लचर कृषि फर्म रहेको छ । उहाँले करिब १० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी बिक्रीवितरण गर्नुहुन्छ । उत्पादित तरकारी बजारीकरणको लागि सहकारीले पहल गरिदिदैँ आएको उहाँले बताउनुभयो ।

अञ्जु जस्ता अन्य कृषकको उत्पादन बजारीकरणको लागि सहकारीले चरिकोट स्थित सातदोबाटो नजिकै जग्गा भाडामा लिई भवन बनाई कृषि उपज खरिद तथा बिक्रिी केन्द्र स्थापना गरेको छ । केन्द्रबाट तरकारी, फलफूल, पशु दाना लगायतका खरिद बिक्री हुँदै आएको संस्थाले जनाएको छ ।
सोही अवसरमा उत्कृष्ट कृषि फर्मको रुपमा भीमेश्वर अर्गानिक कृषि फर्म, कृषि ज्ञान केन्द्र रामेछाप सम्पर्क कार्यालय दोलखालाई नगद सहित सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ट बचतकर्ता ढाल बहादुर बस्नेत, उत्कृष्ट मासिक बचत कर्ता मोहन प्रसाद सुवेदी, उत्कृष्ट बालबचतकर्ता संयोग श्रेष्ठ, उत्कृष्ट बजार व्यावसायी रामशरण ढुङगेल, उत्कृष्ट दैनिक बचतकर्ता कलावती भण्डारी, उत्कृष्ट ऋणि पहलमान थामी, उत्कृष्ट कर्मचारी सुनीता चापाँगाई, जेष्ठ शेयर सदस्यहरु धर्मनन्द सुवेदी, तेञ्जीडोल्मा तमाङनी, पुर्व सञ्चालक मोहन कुमार खड्का र वडा नम्बर ६ लाई सम्मान गरिएको छ। साधारण सभामा नगर प्रमुख भरत बहादुर केसी, वडा नम्वर ६ का वडा अध्यक्ष नविन लामा, भीमेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख नारायणप्रसाद सेढाई संस्थाका उपाध्यक्ष प्रदिप थापा लगायतले मन्तव्य गर्नु भएको थियो ।

Shares

Be the first to comment on "पौरखी कृषि सहकारी संस्थाद्धारा कृषक अञ्जु भारती सम्मानित"

Leave a comment

Your email address will not be published.


*