पैँयुस्वाँरा बन्यो मदिरा नियन्त्रित क्षेत्र

दीक्षण समाचार
चरिकोट, पुस १०
दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामीडाँडा स्थित पैँयुस्वारा टोलमा झगडा, कुटाकुट र महिला हिंसाको घटना नरोकिँदा सधैं अशान्त हुन्थ्यो । टोलमा डर, त्रास बढ्नुका साथै कतिपय महिला तथा बालबालिकाले आफ्नै घरमा पनि सुरक्षित महशुस गर्ने वातावरण थिएन । घरेलु हिंसाबाट यहाँका महिलाहरु प्रताडित हुनुपरेको थियो । यस्तो अवस्थाबाट मुक्तिका लागि मदिरा उत्पादनसेवन नियन्त्रण गर्नु जरुरी थियो । किनभने यो टोलमा मदिरा सहजै पाईने र पुरुषहरु यसको दैनिक सेवनकर्ता बन्ने गरेका थिए । त्यसको परिणाम र असर टोलका लागि सुख, शान्ति र समृद्धिको बाधक बनेको थियो । टोलको एउटै प्रमुख समस्या थियो, मदिरा सेवन र त्यसबाट उत्पन्न हुने खराब परिस्थिति । चुप लागेर बस्दा मदिरा सेवनकर्ता बढ्ने र हिंसाका घटना बृद्धि हुने देखेपछि पारिजात आमा समूह जागा भयो । उसको अगुवाईमा टोललाई मदिरा नियन्त्रण क्षेत्र बनाउन सञ्चालित अभियानमा कम्मर कसेर गाउँका महिलाहरु सक्रिय भए । यस कार्यमा पुरुषले पनि सहयोग गरे । फलतः मदिरा नियन्त्रण अभियान सफल भयो । अभियान सुरु भएको लामो समयपछि शुक्रबार टोललाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गरिएको गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताउनु भयो । । विगत एक वर्ष देखि मदिरा सेवन र बिक्री वितरण पुर्णरुपमा निषेध भएपछि टोललाई गत सात गते मदिरा नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । मदिरा नियन्त्रित गरिएको टोलमा कोहीकसैले मदिरा सेवन गरेको पत्ता लागेमा जरिवानास्वरुप पाँच सय रुपैयाँ असुल्ने गरिएको छ । टोल मदिरा नियन्त्रित क्षेत्र बनेपछि स्थानीयहरु गाउँको ठूलो समस्याबाट मुक्ति मिलेको भन्दै खुशी भएका छन् । महिलाहरुले मदिराका कारण हिंसा बढेको गुनासो गरेपछि आमा समुहको अगुवाइमा टोललाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गरिएको सिविन नेपालका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले बताउनुभयो ।जसको सवाल उसैको अगुवाइ कार्यले आज मुर्तरुप लिएको उहाँले सुनाउनुभयो । वडा स्तरीय मदिरा न्युनिकरणका समितिको आयोजना, कालिञ्चोक गाउँपालिका र ग्रामीण विकास टुकी संघ दोलखा सिविन नेपाल, ओसेलिप परियोजना मदिरा न्युनिकरण कार्यक्रमको पहलमा एक कार्यक्रममा गरी मदिरा नियन्त्रित टोल घोषणा गरिएको हो ।

Shares

Be the first to comment on "पैँयुस्वाँरा बन्यो मदिरा नियन्त्रित क्षेत्र"

Leave a comment

Your email address will not be published.


*