चरिकोट (दीस) ः जिल्लाको पूर्वाधार विकास कार्यालय दोलखाबाट भौतिक निर्माणतर्फ १ सय ३७ वटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्ष यी आयोजनाहरु सञ्चालनमा रहेका हुन्। सञ्चालनमा रहेका योजनाहरूमा बहुवर्षीय सडक आयोजना ९ वटा रहेका छन् । बहुवर्षीय पुल योजना ४, सालवसाली साना ठेक्का ६४ वटा योजनाहरू सञ्चालनमा रहेका छन् । कार्यालयले उपभोक्ता समिति मार्फत ६० योजनाहरू निर्माण गर्ने भएको छ भने अरु बाँकी आयोजनाहरू ठेक्का मार्फत निर्माण गर्ने जनाएको छ ।
पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाका अनुसार चालु आयोजनाहरू मध्य हालसम्म एउटा सडक तथा एक पुल सम्पन्न भइसकेको छ। केही आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । कुल १३७ आयोजना मध्ये साना ठेक्का तथा उपभोक्ता समितिमा मार्फत जिल्लाका नौ वटै स्थानीय तहहरूमा सञ्चालन हुने उहाँको भनाइ रहेको छ। जसमा १२४ वटा आयोजनाहरू रहेका छन् । बाँकी रहेका आयोजनाहरु ठूला प्रकृतिका रहेका छन् । जसमा चालु आर्थिक वर्षमा कार्यालय मार्फत सञ्चालन हुने मुख्य आयोजनाहरुमा मुढे–बाघखोर–कालापानी सडक, सीताको थान–जुँगु–झ्याँकु–गाउँपालिका जोड्ने सडक, सिंगटी–लादुक–बुलुङ–लामाबगर सडक, सितली–मेलुङमाने–बुद्धचोक सडक तथा चरिकोट–कालिञ्चोक–टुटुवान–विगु सडक अन्तर्गत देउराली कुसी सेक्सन रहेका छन ्।
ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरू १० लाखदेखि ५० लाखसम्मका रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । साना ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरूमा उपभोक्ता समिति मार्फत ६ करोड तथा साना ठेक्का मार्फत १५ करोड २८ लाख रुपैयाँ विनियोजन भएको कार्यालयको भनाइ रहेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालयलाई चालु आर्थिक वर्षमा कुल ६३ करोड ९० लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
Be the first to comment on "पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा"