पुल भत्काइसक्यौं, अब फर्किने ठाउँ नै छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल भत्काएरै एकता प्रक्रियामा अघि बढेकाले अब त्यहाँबाट फर्किनै नमिल्ने बताएका छन् ।

“पार्टी एकता या गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा भ्रामक समाचार आएका छन्,” दाहालले भने, “त्यस्ता भ्रामक समाचारको आधिकारिकता पुष्टि नगरीकन विश्वास नगर्न आग्रह गर्न चाहन्छु । आज बिहान र हिजो बेलुका पनि केपी ओलीसँग मेरो कुराकानी भएको छ । यसलाई जसरी पनि टुंगो लगाउने भन्ने भएको छ । अब पछि हट्ने भन्ने कतै पनि छैन । मैले भनेको छु हामीले पुल भत्काएर अघि बढेका छौं । अब फर्किन सकिँदैन । पुल बाँकी राख्दा फर्किने खतरा हुन्छ भनेर मैले र केपी ओलीले पुल नै फालेर एकता प्रक्रियामा हाम फालेका हौं ।”
एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए ।

उनले भने, ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’

यद्यपि वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनले बताए । ‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले भने, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’

Shares

Be the first to comment on "पुल भत्काइसक्यौं, अब फर्किने ठाउँ नै छैन : प्रचण्ड"

Leave a comment

Your email address will not be published.


*