दीक्षण समाचार
चरिकोट, मंसिर १२
दोलखामा १० मतदान केन्द्रमा भएको मतदान रद्ध गरी पुनः मतदान गर्ने निर्णय प्रति सत्तारुढ गठबन्धन दलले आपत्ति जनाएको छ । गठबन्धन दलले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ मा भएको निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको दाबी गर्दै पुनः निर्वाचन गर्नु नागरिकको अभिमतको अपमान हुने भन्दै आपत्ति जनाएको हो ।
जिल्लामा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन भएपनि एमालेले षड्यन्त्र गरेको र मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ प्रभावमा परेको आरोप लगाउँदै गठबन्धन दलले पुनः मतदान गर्ने निर्णय प्रति प्रतिरोध गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा नागरिकले स्वतन्त्रपूर्ण गरेको मतदानलाई स्विकार गर्न नसक्नु दुर्भाग्य भएको उल्लेख गरिएको छ । विवादित मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा हुने पुनः निर्वाचन प्रति पनि गठबन्धन दलले आपत्ति जनाउँदै मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न माग गरेको छ । स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचनलाई एक पक्षको प्रभावमा परी रद्ध गर्न भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत परिवर्तन गरी अर्को व्यवस्था गरिनुपर्ने विज्ञप्तिमार्फत् माग गरिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामा, माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकी र एकिकृत समाजवादीका भिम प्रसाद दाहालले हस्ताक्षरित विज्ञप्तिमा पक्षपाती निर्णयको प्रतिरोध गर्ने र त्यसको जिम्मेवार मुख्य निर्वाचन कार्यालय हुने उल्लेख छ ।
Be the first to comment on "पुनः मतदान गर्ने निर्णय प्रति सत्तारुढ गठबन्धन दलको आपत्ति"