पाल्पा, २६ फागुन (रासस –पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो । लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ । ब्राण्डिङ नै गरेर प्रमाणित गरी पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उहाँले बताउनुभयो । जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइने छ । ढाका उद्योगी सागर महर्जनले भन्नुभयो “अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुनेछ । यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ । ” सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । यस्तो कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ । आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगमा दक्ष कामदारको अभावले थियो । कामदार अभावमा ढाका कपडा उत्पादन न्यून मात्रा रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा छन् । पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ बन्द अवस्थामा रहेका उद्योगमा अहिले धमाधम ढाका कपडा उत्पादन हुन थालेसँगै रोजगारीका अवसर सिर्जना भएको छ । ढाका कपडालाई ब्राण्डिङ गर्ने तयारी गरिएको छ । काठमाडौँमा ब्राण्डिङका लागि लोगो प्रदर्शन गरिएको छ । ” हस्तकलाको माध्यमबाट पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । फुर्सुदका समयमा यहाँका महिला उद्योगमा ढाका कपडा बुन्छन् । तानसेनकी लक्ष्मी थापाले ढाका कपडा बुनेर मासिक रु आठ हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो । ढाका उद्योगमा ढाका कपडा, तयारी पोशाक उत्पादनबाट पाल्पामा महिलाले रोजगारी पाएका छन् । यसले घर खर्च, परिवारको लालनपालनका केही खर्चको व्यवस्थापन गर्न सहज भएको हो । महिलाहरू सामान्य खर्चका लागि अरुको भर पर्ने दिनहरु ढाका कपडा बुन्न थालेपछि हटेको हो । रम्भा गाउँपालिकाकी उषा सिंजालीले हस्तकलाको प्रयोग गरी ढाका कपडामा बुट्टा बनाउन खप्पिस हुनुभएको छ । ढाका कपडा उत्पादनका क्रममा हात तथा खुट्टाको एकसाथ प्रयोग गर्नुपर्छ । तानमा पहिला धागो हाल्ने र डिजाइन गर्ने हो । हस्तकलाको प्रयोग गरी विभिन्न प्रकारका बुट्टाहरु भर्ने चलन छ । मसिनो काम भएकाले एक मिटर ढाका कपडा उत्पादन गर्न झण्डै तीन–चार दिन लाग्छ । यसरी ढाका कपडा बुनेर आम्दानी गर्न पाउँदा यहाँका महिला उत्साहित बनेकाछन् । –––
पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै
Posted By: दीक्षण दैनिक २६ फाल्गुन २०७८, बिहीबार १२:२७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै"