पालिकामा मतदाता नामावली संकलन गरिने

फाइल फोटो

इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १५
दोलखाको नौ वटै पालिका कार्यालयमा दश दिनसम्म निरन्तर फोटो सहितको मतदाता नामावली संकलन कार्य हुने भएको छ । यो कार्य जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट नियमित भईरहेकोमा नागरिकलाई सहजताको लागि मंसिर १७ गतेदेखि पुस नौ गतेसम्म पालिका स्तरमा संकलन कार्य गर्न लागिएको हो । निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अन्तर्गत नजिकिदैँ गरेको स्थानीय, प्रदेश र संघको निर्वाचनलाई दृष्टिगत गर्दै मतदाता नामावली संकलन विषेश कार्यक्रम, २०७८ को दोलखामा पनि तयारी अन्तिम चरणमा पुगेको छ । योग्य नागरिकहरुलाई मतदाता बन्न सहजतताको लागि पालिका कार्यालय परिसरमा नै कर्मचारी खटाएर दुई चरणमा नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कोही नछुटुन्, कोही नदोहोरिउन्, भन्ने नारासहित हुने यस कार्यक्रममा नागरिकता भएका व्यक्तिको नाम दर्ता र तस्बिर खिचिने छ । यसका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्ति स्वयमले निर्धारित समयावधिमा आवश्यक पर्ने कागजातहरु साथमा लिएर पालिकाको दर्ता स्थलमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख दर्ता अधिकारी विशाल के.सीले बताउनुभयो । पहिलो चरण अन्तर्गत मंसिर १७ देखि २६ गते सम्म गौरीशंकर गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिकाको कार्यालय परिसरमा मतदाता नामावली दर्ता तथा संकलन कार्य हुने छ । दोश्रो चरण अन्तर्गत मंसिर २९ देखि पुस नौ गतेसम्म जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिकाको कार्यालय परिसरमा हुने छ । भीमेश्वर नगरपालिकाको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा हुने उहाँले बताउनुभयो । पालिका कार्यालयमा नामावली संकलनको लागि दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी खटाइने छ । नाम दर्ता गराउनको लागि सक्कल नागरिकता र सोको फोटोकपी, विवाह तथा बसाई सरी आएको व्यक्तिको हकमा विवाह दर्ता र बसाई सराई दर्ता प्रमाणपत्रको फोटोकपी पेश गर्नु पर्दछ । तोकिएको समयभित्र जिल्ला निर्वाचन कार्यालय दोलखामा बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गर्न लागिएको प्रमुख दर्ता अधिकारी के.सीले बताउनुभयो । यो कार्यलाई पर्वको रुपमा लिई सफल पार्नको लागि सबै निकायले समन्वय र सहजीकरण गर्न आवश्यक रहेको बताइएको छ ।

Shares

Be the first to comment on "पालिकामा मतदाता नामावली संकलन गरिने"

Leave a comment

Your email address will not be published.


*