पहिरोको क्षति निरीक्षणमा निस्किए, विगूका अध्यक्ष र उपाध्यक्ष

दीक्षण समाचार
दोलखा, २९ साउन
पहिरो र भू क्षयले जनजीवन कष्टकर बनेपछि विगू गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आफैं स्थलगत निरीक्षणमा निस्किएका छन् । केही दिनदेखि ठाउँ ठाउँमा पहिरोका कारण विगू गाउँपालिकाका विभिन्न ठाउँमा क्षति पुगेको छ ।
बाढी पहिरोको क्षति निरीक्षण र मूल्याङ्नका लागि विगू गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष छुट्टाछुट्टै टोली बनाएर मंगलबारदेखि प्राविधिक कर्मचारी साथमै लिएर निरीक्षणमा निष्किएका हुन् । उपाध्यक्ष सञ्जिव ओलीको नेतृत्वमा विगू गाउँपालिकाको वडा नं. १, २, ३ र ४ (लामाबगरदेखि लादुकसम्म) र अध्यक्ष युधिष्ठिर खड्काको नेतृत्वमा वडा नं. ५, ६, ७ र ८ (चिलंखादेखि खोपाचागू) निष्किएका छन् । दुवै टोलीले प्रहरी समेत साथमै लिएर हिडेका छन् ।
अध्यक्ष खड्काको टोली मंगलबार खोपाचागू पुगेको निरीक्षण गरेको छ । हरेक वडामा कम्तिमा १ दिन लाग्ने उनले बताए । पहिरो र बाढीले क्षति भएका हरेक घर टोलमा पुगेर घर, बाली, गोठ आदीको क्षतिको मूल्याङ्कन गर्ने अध्यक्ष खड्काले जानकारी दिए । सम्पूर्ण क्षतिको मूल्याङ्कनपछि आवश्यकता अनुसार राहत वितरण गर्ने समेत उनले बताए ।
“बाढी पहिरोबाट क्षति ठाउँठाउँमा भएका छन्, राहत स्वभाविक रुपमा आवश्यक पर्छ” उनले भने “निरीक्षण नगर्दा कहिलेकाँही वास्तविक पीडितले राहत नपाउने र आवश्यक नभएकाले पनि पाउँदा दुरुपयोग समेत हुनसक्छ ।” क्षतिको मूल्याङ्कनपछि तत्कालै सिंगटी वा सम्बन्धित वडाबाट राहत वितरण हुने उनले बताए ।
विगू गाउँपालिकाले आकस्मिक कोष अन्र्तगत राहतका सामाग्रीहरुको व्यवस्थापन गरेको छ । गाउँपालिका आफ्नै स्रोत, जिल्ला प्रकोप उद्धार समिति र नेपाल रेडक्रसबाट पाउने राहतलाई मिलाएर दोहोरोपन नहुने गरी व्यवस्थापन गरेको अध्यक्ष खड्काले जानकारी दिए । दुःख परेका बेलामा जनताको अवस्था बुझ्न पनि आफूहरु पीडितका घरघर हिडेको बताए । सोमबार मात्रै गाउँकार्यपालिकाको बैठकले बाढी पहिरोको स्थलगत निरीक्षणमा अध्यक्ष र उपाध्यक्ष स्वयम् जाने निर्णय गरेको थियो ।
भदौ भित्र योजनाको तयारी गर्ने
विगू गाउँपालिकाले आर्थिक वर्ष आ व २०७५।०७६ का लागि पूर्वाधार विकासका योजनाको एक महिना भित्र स्टमेट तयार गरिसक्ने भएको छ । पूर्वाधार योजनाको कामकाजलाई छिटो छरितो बनाउँन वर्षात्को समय भदौ भित्र इष्टमेट तयार पारेर असोजदेखि कार्यान्वयन गर्ने सोमबार साँझ बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
विगू गाउँपालिकाका प्रवक्ता बुक्ताम तमाङका अनुसार गाउँपालिका भित्रका स्थानीयका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर आवेदन सबै वडा तहमा सहज व्यवस्था पर्ने समेत निर्णय भएको छ । बिगु गाउँपालिका वडा नं. ४ लादुकमा बन्ने तामकोशी पाँचौमा गाउँपालिकाबासीको अधिकतम लगानी पहल गर्ने निर्णय भएको छ ।
बिगु गाउँपालिका भित्रको चालु आर्थिक वर्षमा पूर्वाधार तथा सामाजिक विकासलाई अझ प्रभाबकारी बनाउन आवश्यक स्रोत साधन र जनशक्तिको ब्यबस्था तथा परिचालन गरिने समेत निर्णय भएको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "पहिरोको क्षति निरीक्षणमा निस्किए, विगूका अध्यक्ष र उपाध्यक्ष"

Leave a comment

Your email address will not be published.


*