चरिकोटः दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ सहर्पाका कृष्ण प्रधानको कुनै समयको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिबक्री गर्नु थियो । दिनमा चारपाँच वटा दाम्लो बाट्ने गरेका प्रधानलाई त्यसबाट घरायसी खर्च जोहो गर्न मद्दत पुगेको थियो । गाउँमा पशुपालक किसानलाई दाम्लो बुन्ने सिप खासै नभएको कारण कृष्णकोमा दाम्लोको माग विभिन्न ठाउँबाट आउँथ्यो । तर अहिले कुनै पनि ठाउँबाट दाम्लोको माग आउदैन । जसले गर्दा प्रधानको आम्दानीको स्रोत त गुमेको छ नै, सिप समेत लोप हुने खतरा बढेको छ । “गाउँमा पहिले धेरै पशुपालन हुन्थ्यो । जसले गर्दा मैले बाटेको दाम्लोको माग धेरै थियो ।” उहाँले भन्नुभयो “तर अहिले पशुपालन घट्दै जाँदा दाम्लो बनाइदेउ भन्ने किसानहरु पनि पाउन मुस्किल परेको छ ।”
विगतमा सहर्पा, खैँदल, दोलखा, जिलु, माटी लगायतका गाउँबाट दाम्लोको माग हुने गरेकोमा अहिले पशुपालन घट्दै गएकोले दाम्लोको माग तथा बिक्री हुनै छाडेको प्रधानले बताउनुभयो । उहाँले युवाहरु गाउँमा पशुपालन तथा कृषि गर्न छाडेर विदेश पलायन हुन थालेपछि यस्तो अवस्था आएको बताउनुभयो। “अहिले गाउँमा एक(दुई वटा गाईभैँसी पाल्छन् । बाख्रा पालन पनि सोही हाराहारीमा हुन्छ ।“ कृष्णले भन्नुभयो, “युवाले विदेशको मोह त्यागेर गाउँमै व्यवसायिक रुपमा पशुपालन गरेको भए मासु र दुधमा आत्म परनिर्भरता घट्ने थियो ।“ लामो समयदेखी दाम्लो बाटेर विक्री वितरण गरी आएको आम्दानीले घरखर्च टार्दै आएको भएपनि अहिले दाम्लो बिक्री हुन छोडेपछि समस्या भएको भीमेश्वर नगरपालिकाको वडा नम्वर ३ का सेतीमाया कुुसुलेको पनि गुनासो छ ।प्रत्येक शनिबार चरिकोटमा लाग्ने हाटमा तथा गाउँमै दाम्लो बेचेरै नुनभुटुन खर्च जोहो गर्ने गरेकोमा अहिले मुस्किलले एउटा दुईवटा मात्रै विक्रि हुने गरेको दाम्लो विक्रि गर्नेहरुको अनुभव छ । गाउँघरमा गाईबस्तु पाल्न छोड्नु र युवा पुस्तामा दाम्लो बाट्ने सीप हस्तान्तरण नहुँदा दाम्लो बाट्ने सीप नै लोप हुने अवस्थामा पुगेको हो । पशुपालनबाट किसानसँगै दुध र मासुका उपभोक्तालाई मात्र होइन दाम्लो बाट्नेलाई समेत फाइदा पुग्छ । तर पशुपालन नै घटेपछि घाटा भइरहेको भीमेश्वर नगरपालिका वडा नम्वर ५ माटीका रेनु थापाले बताउनुभयो ।
Be the first to comment on "पशुपालनमा कमी हुँदा दाम्लो बाट्ने सीप लोप हुँदै"