पर्यटकको रोजाईमा पर्दै सोथली डाँडा

ईश्वर विश्वकर्मा, चरिकोट यसअघि गुमनाम रहेको गौरीशंकर गाउँपालिका ८ खारेको सोथलीडाँडा हाल पर्यटकीय गन्तव्य बन्न थालेको छ । सोथली डाँडाको सौन्दर्यको प्रचार(प्रसार बढ्दै गएपछि उक्त स्थान पर्यटकीय गन्तब्य बन्दै गएको हो । वडाध्यक्ष दावारिन्जी शेर्पाले सोथलीडाँडाको प्रचारप्रसार गरिएपछि पर्यटकीय गतिविधि बढ्न थालेको बताउनु भयो । कर्मचारी तथा विद्यार्थीको छुट्टिको समयलाई मनोरञ्जनमा बदल्न पहिलो गन्तव्य र रोजाइमा सोथलीलाई लिइन थालिएको उहाँको भनाई छ ।
च्छो –रोल्पा हिमताल पुग्नपनि सोथलीबाट छोटो दुरी पर्ने भएकोले आन्तरिक पर्यटकले यो मार्गलाइ रोज्ने गर्दछन् । सोथली सेतिदेवीको पुजा आरधाना गरे मनोकाङ्कक्षा पुरा हुने जनविश्वासका कारण पनि आन्तरिक पर्यटक बढ्दै गएको वडाध्यक्ष शेर्पाले बताउनु भयो ।
पर्यटकमैत्री बासस्थान भएकोले घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्नका लागि खासै समस्या छैन । सोथलीमा पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटनको संख्यामा वृद्धि गराउँदै स्थानीय स्थरमा रोजगार स्थापित गराउने योजना रहेको वडाध्यक्ष शेपाले बताउनु भयो ।
बुकी फूल र सुनपाती धुपको बासना, च्याँसी फलको स्वाद र मृग, घोरल कालिजको प्राकृतिक कलाले भ्रमणमा गएका पर्यटकलाई थप उर्जा मिल्छ । सोथली आसपास धेरै किसिमको जडिबुटी पनि पाइने हुँदा धेरै विद्यार्थी तथा वातावरण विद् पनि पुग्ने गरेका उहाँले बताउनु भयो । सदरमुकाम चरिकोटबाट खारेसम्म पुग्न मोटरको यात्रा गर्नु पर्छ । त्यसपछि पैदल यात्रा हुँदै सोथली डाँडामा पुग्न सकिन्छ ।
सोथली डाँडाबाट गौरीशंकर हिमाल, कालिन्चोक, चेर्दुङ, हनुमन्ते डाँडा लगायतका भूभाग को सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । पर्यटकीय स्थल सोथली डाँडा समुन्द्री सतहबाट ३ हजार ३ सय मिटर उचाईमा रहेको छ ।

Shares

Be the first to comment on "पर्यटकको रोजाईमा पर्दै सोथली डाँडा"

Leave a comment

Your email address will not be published.


*