इश्वर बिश्वकर्मा
चरिकोट, भदौ ८
दोलखामा १२ कक्षाको परीक्षाको तयारीमा रहेका एक हजार भन्दा बढी विद्यार्थीले कोभिड विरुद्धको खोप लगाएका छन् । भदौ चार गतेदेखि भएको खोप अभियानमा एक हजार ३ सय ७९ जना विद्यार्थीले एस्ट्राजेनिकाको पहिलो मात्रा लगाएका हुन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ७ उखुबारीका राम कुमार भुजेल कोरोना महामारी फैलिरहेको बेला भौतिक उपस्थितिमा परीक्षा दिँदा संक्रमण भई जटिल बिरामी हुने डरमा हुनुहुन्थ्यो । कालिन्चोक माविमा अध्ययनरत भुजेल खोप लगाएपछि ढुक्क हुनु भएको छ । अब संक्रमण भए पनि खोपको प्रभावले जटिल समस्या नहुने भन्दै भौतिक उपस्थितिमै परीक्षा दिन आफु तयार भएको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयका अनुसार कक्षा १२ को परीक्षा तयारीमा रहेका १८ वर्ष पुरा भएका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिइएको छ । खोप अभियानमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा दुई सय ८८ र जिरी नपामा एक सय ६० जनाले खोप लगाएका छन् ।
शैलुङ गाउँपालिकामा एक सय ३२, कलिन्चोक गाउँपालिकामा दुई सय १२, तामाकोशी गाउँपालिकामा एक ५२, बैतेश्वर गाउँपालिकाका १८०, मेलुङमा १००, गौरीशंकर गाउँपालिकामा ४५ र विगु गाउँपालिकामा ४० जनाले खोप लगाएका हुन् ।
कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेका ६५ बर्ष माथिका ज्येष्ठ नागरिक तथा कक्षा १२ को परिक्षा दिने तयारी गरेका विद्यार्थीहरुले आजसमम्म चरिकोट अस्पतालमा खोप लगाउन आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । कोभिड विरुद्धको खोपको एक वा पूर्ण डोजले संक्रमण हुनबाट जोगाउदैन तर संक्रमणकै कारण मृत्यृ हुनबाट धेरै हदसम्म जोगाउने विज्ञहरुले जनाएका छन् ।
Be the first to comment on "परीक्षार्थीलाई पहिलो डोज खाेप"