दीक्षण दैनिक
चरिकोट, बैशाख ५
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा दोलखाले पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । शनिबार एक समारोहको आयोजना गरी २५ औँ निर्वाचनबाट महासंघ जिल्ला शाखा दोलखामा निर्वाचित सबै पदाधिकारी, रामेछाप र सिन्धुली जिल्ला शाखा तथा प्रदेश र केन्द्रिय समितिका केही पदाधिकारीहरुलाई सम्मान गरिएको हो । नव निर्वाचित पदाधिकारीहरुलाई दलित पत्रकार संघका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बागमति प्रदेश सचिव राजन वि.क (गाउँले)ले सम्मानपत्र प्रदान गरी खादा ओढाएर सम्मान गरे । सम्मानित पत्रकारहरुलाई बधाई दिदैँ गाउँलेले महासंघको हरेक सकरात्मक कार्यमा आफ्नो सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे । पत्रकार महासंघको आफ्नो कार्यकालमा पत्रकारको पेशागत हकहित र विकासका लागि काम गर्ने, पत्रकारहरुको न्युनत्तम पारिश्रमिकको नीति कार्यान्वयन गर्न पहल गर्ने उनले बताए । उनले दलितका सवाल तथा समस्याहरुका समाचार दलित पत्रकारले मात्रै होइन, गैरदलित पत्रकारहरुले पनि सम्प्रेषण गरी दलित अधिकारको सुनिश्तिताका लागि सहयोग गर्नुपर्ने बताए । अबको ‘मिसन’ र ‘भिजन’ भनेको बिकृति र विसङ्गतिलाई जरैदेखि निर्मुल पारी सभ्य समाजको निर्माण गर्नू हो । यो कार्यमा पत्रकारहरुको विषेश भूमिका र जिम्मेवारी रहन्छ । त्यसैले सबै समुदायको समस्या, सवाल र सबैको पक्षमा सबै पत्रकारले कलम चलाउनुपर्छ, अनि मात्र हामीले परिकल्पना गरेको समाज निर्माणका लागि सहयोग पुग्छ ।’ उनले दलित पत्रकारहरुको क्षमता अभिबृद्धि गरी सञ्चार जगत्मा टिक्ने र बिक्ने बनाउन पत्रकार महासंघले पनि आवश्यक समन्वय र सहकार्य गर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले दलित पत्रकार संघले दलित समुदायको सवाल तथा समस्याहरुको पहिचान गरी त्यसको शसक्त ढंगले प्रस्तुत गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए । उनले दलित समुदायको पत्रकारहरुका साथमा गैरदलित पत्रकारहरु रहेकोले दलित समुदायको अधिकारको पूर्ण सुनिश्चिताको लागि संघर्षमा साथ दिने बताए । दलित पत्रकार संघ धेरै पत्रकारहरुको आबद्धता हुनुपर्नेमा उनको जोड थियो । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका अध्यक्ष सुदिप रसाइलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकारमहासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँ, पूर्वअध्यक्ष जीवन लामा लगायतले मन्तव्य राखेका थिए ।
Be the first to comment on "पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान"