न्यानो कपडा वितरण

दीक्षण समाचार चरिकोट, –चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा, तथा दीर्घरोगीहरु बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई चिसोबाट जोगाउन सकिएन भने विभिन्न समस्यासँगै दुखद घटना हुन सक्छ । चिसोबाट जोगिने प्रमुख उपाय अन्तर्गत न्यानो कपडा लगाउनु पहिलो आवश्यकतामा पर्छ । तर आर्थिक विपन्नताको कारण कतिपयले यसको परिपूर्ति गर्न नसक्दा जाडो मौसम अभिशाप बन्न पुगेको छ । तर केही मनकारी व्यक्ति तथा परोपकारी संस्थाले गरिबहरुको न्यानो कपडाको आवश्यकता परिपूर्ति गरिदिएर चिसोबाट जोगाउने प्रयासमा जुटेका छन् । सोही अभियानमा सक्रिय हुनुहुन्छ, नेता एवं समाजिक अभियान्ता राकेश श्रेष्ठ । नेपाली कांग्रेस दोलखाका कार्यसमिति सदस्य एवं समाजसेवी श्रेष्ठको पहल, चाईना फाउन्डेसन र सफा सुनौलो नेपाल सहयोगमा जिल्लाका विभिन्न विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण अभियान जारी छ । सो अभियान अन्तर्गत बुधबार जिल्लाको जिरी नगरपालिका–५ जिरी बजार स्थित ढुङ्गेश्वरी माध्यमिक विद्यालयका १ देखि ५ कक्षासम्मका १ सय २८ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ । नेता एवं अभियान्ता श्रेष्ठका अनुसार ट्रयाक सुट १ सय २७ थान, गलबन्दी १ सय २७ थान, मोजा– १ सय २७ थान, पञ्जा १ सय २७ थान वितरण गरिएको हो । त्यसैगरी श्यामाको पाथीभरा आधारभूत विद्यालय, सुनखनी स्थित देवीस्थान आधारभुत विद्यालय, दोलखाको भीमेश्वर बालमन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । जिल्लाभरका १४ देखि १६ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो–जाडोको सिजन छ । यस्तो अवस्थामा न्यानो कपडाको खाँचो पर्दछ । तर कतिपयको किनेर लाउन सक्ने अवस्था पनि छैन । उनीहरुलाई हाम्रो सहयोगले खुशी बनाएको छ । यस्तो प्रकारको सहयोग गर्नुपर्ने उत्प्रेरणाका लागि पनि यसले उजागर गरेको छ । उहाँले भन्नुभयो निरन्तरको चिसोले दुख दिन्छ । त्यसैले चिसोबाट निम्तने समस्याबाट जोगिन सबैले प्रयास गर्नुपर्छ ।

Shares

Be the first to comment on "न्यानो कपडा वितरण"

Leave a comment

Your email address will not be published.


*